चलचित्र पत्रकारको सम्मान गर्दै मनाइयो चलचित्र पत्रकारिता दिवस
SamacharDesk – विजयरत्न | २०८३ जेठ ९, शनिबार
रंग क्षेत्रमा कलम चलाइरहेका पत्रकारहरुको सम्मान गर्दै चलचित्र पत्रकार संघ नेपालको २७औँ वार्षिकोत्सव साथै राष्ट्रिय चलचित्र पत्रकारिता दिवस मनाइएको छ ।
कार्यक्रममा राष्ट्रिय चलचित्र पत्रकारिता मरणोपरान्त विशेष सम्मान स्वर्गीय पत्रकार दिनेश सिटौलालाई प्रदान गरिएको छ । दिवंगत पत्रकार सिटौलाका पिता गोकर्ण राज सिटौलाले उक्त सम्मान ग्रहण गरेका थिए ।
प्रतिनिधि सभाको चुनावी यात्राका क्रममा अछाममा हृदयाघात भएपछि उपचारका लागि काठमाडौं ल्याइए पनि चिकित्सकले ४३ वर्षीय पत्रकार सिटौलालाई मृत घोषणा गरेका थिए ।
स्वर्गीय पत्रकार सिटौलाले आफ्नो पत्रकारिता जीवनमा कहिल्यै कुनै पनि सम्मान तथा पुरस्कार ग्रहण नगरेको कुरा पनि यहाँ स्मरणीय छ ।
संघले स्वर्गीय पत्रकार सिटौलाकै नामबाट पनि पुरस्कारको थालनी गरेको छ । स्वर्गीय दिनेश सिटौला स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०८३ सुरक्षा भट्टराईलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशी ५१ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै ५५ हजार ५५५ रुपैयाँ राशि सहितको राष्ट्रिय चलचित्र पत्रकारिता राजत सम्मान–२०८३ बाट अनन्त वाग्ले सम्मानित भए भने राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान–२०८३ बाट जयन सुब्बा मानन्धरलाई कुबेरराज गिरीलाई प्रदान गरियो ।
वैकुण्ठराज पराजुलीलाई ५१ हजार रुपैयाँ राशिसहितको राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरियो । २५ हजार रुपैयाँ राशी रहेको राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन सम्मान–२०८३ मिलन ढुंगानालाई प्रदान गरियो ।
नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी लगायत कार्यक्रममा उपस्थित वरिष्ठ चलचित्रकर्मीहरुले सम्मानित र पुरस्कृतलाई सम्मान र पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै महानायक हमालले चलचित्र र चलचित्रकर्मीलाई दर्शकसामु चिनाउन, कलाकारलाई कलाकारको स्थापित गर्न चलचित्र पत्रकारहरुले खेल्दै आएको भूमिकाको प्रशंसा गरे ।
चलचित्र विकास बोर्डका अध्यक्ष डिसिले नेपाली चलचित्र क्षेत्रको प्रवद्र्धन, अभिलेखीकरण, समीक्षा, सूचना सम्प्रेषण र स्वस्थ चलचित्र संस्कृतिको विकासमा चलचित्र पत्रकारिताले निर्वाह गर्दै आएको भूमिकालाई बोर्डले उच्च सम्मान गरेको बताए ।
नेपाली चलचित्र क्षेत्रको समग्र विकास, प्रवर्ध्दन र संस्थागत सुदृढीकरणका लागि चलचित्र पत्रकारिता क्षेत्रसँग निरन्तर सहकार्य गर्दै अघि बढ्न बोर्ड प्रतिबद्ध रहेको डिसिको भनाई हो ।
संघका अध्यक्ष समीर बलामीले संघलाई साथ र सहयोग गर्ने विभिन्न संघ–संस्था तथा चलचित्रकर्मीहरूप्रति हार्दिक आभार व्यक्त गरे ।
समारोहमा वसुन्धरा भुसाल, भुवन चन्द, चैत्यदेवी सिंह, अशोक शर्मा, ज्ञानेन्द्र देउजा, केपी पाठक, बद्री पंगेनी, ऋषि लामिछाने, नवल नेपाल, करिश्मा मानन्धर, निखिल उप्रेती, रेखा थापालगायतका कलाकारको उपस्थिती रहेको थियो ।
साथै नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, उपाध्यक्ष गोपालकाजी कायस्थ, कलाकार संंघका अध्यक्ष उत्तम केसी, निर्देशक समाजका अध्यक्ष अरुणकुमार प्रधान, प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, द्वन्द कलाकार संघका अध्यक्ष नारायण प्रधान, नृत्य कलााकारसंघका अध्यक्ष जनक कार्की र गीतकार संघका अध्यक्ष बसन्त थापा बित्यासी लगायतको पनि उपस्थिति रहेको थियो ।
Categorized in पेजथ्री




