नेपाली चलचित्रकी आमा चैत्यदेवीको जन्मदिन मनाए कलाकारहरुले
SamacharDesk – बिराज | २०७८ बैशाख ६, सोमबार

नेपाल चलचित्र कलाकार संघले पहिलो नेपाली चलचित्र ‘आमा’की आमा चैत्यदेवी सिंहको जन्मदिन मनाएको छ । शनिवार एउटा समारोहको नै आयोजना गरेर संघले चैत्य देवी सिंहको ७१ औं शुभ जन्मोत्सव मनाएको हो ।
जन्मदिनको केक काट्दै अभिनेत्री चैत्यदेवी जीवनमै पहिलो पटक आफ्नो जन्मदिन मनाइरहँदा खुशी भएको बताइन् । आफ्नो कर्मक्षेत्र चलचित्र कलाकार संघले यो अवसर जुटाइदिएकोमा आफ्नो आँखाबाट हर्षको आँशु खसेको भन्दै उनले हर्ष पोखिन् ।
कलाकार संघकी आजीवन सदस्य तथा ऐतिहासिक चलचित्रकी अभिनेत्री चैत्य देवीको जन्मदिन कलाकारहरुमाझ मनाउन पाउँदा आफ्नो संस्था नै हर्षित भएको संघका अध्यक्ष रवीन्द्र खड्काले बताए ।
अध्यक्ष खड्काले अग्रजलाई सम्मान, नयाँलाई प्रोत्साहन दिँदै प्रत्येक चलचित्रकर्मीको सुख–दुःखमा एउटा जिम्मेवार अभिभावकका रूपमा रहेर संरक्षकत्व प्रदान गर्नु नै आफ्नो संस्थाको प्रमुख दायित्व र कर्तव्य भएको बताउनु भयो ।
समारोहमा कलाकार संघकी उपाध्यक्ष रेजिना उप्रेती लगायत राजेश महर्जन, पवित्रा आचार्य, धर्मेन्द्र आचार्य, जीवन थापा लगायत वरिष्ठ कलाकार कृष्ण मल्ल, गीतकार सुभासचन्द्र ढुंगेलका साथै विभिन्न चलचित्रकर्मिहरुको उपस्थिति रहेको थियो ।
संघले अघिल्लो महिनादेखि विशिष्ट कलाकारहरुको जन्मदिन मनाउने कार्यक्रमको थालनी गरेको हो । संघले पहिलो पटक वरिष्ठ अभिनेता तथा निर्देशक विश्व बस्नेतको जन्मदिन मनाएको थियो भने दोस्रो पटक संघकै उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाको पनि जन्मदिन मनायो ।
Categorized in पेजथ्री