चौथो आदिवासी जनजाति चलचित्र महोत्सव सुरु
SamacharDesk | २०८१ जेठ २३, बुधबार

नेपाल आदिवासी जनजातिको चौथो चलचित्र महोत्सव बुधबारदेखि भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा सुरु भएको छ ।
आदिवासी जनजाति चलचित्र महासङ्घद्वारा आयोजित उक्त चलचित्र महोत्सव विशेष सांस्कृतिक प्रस्तुती तथा झाँकी प्रदर्शनकासाथ शुरु भएको हो ।
महोत्सव जेठ २३, २४ र २५ गते तीन दिन सञ्चालन हुनेछ । महोत्सवमा विभिन्न आदिवासी जनजाति समुदायका चलचित्रकर्मीद्वारा निर्माण गरिएका चलचित्र प्रदर्शन गरिनेछ ।
महोत्सवको उद्घाटन प्रतिधिसभाका उपसभामुख इन्दिरा रानाले गर्नुभएको हो । सो अवसरमा उपसभामुख रानाले आदिवासी जनजाति समुदायप्रतिको आमबुझाइमा सकारात्मक परिवर्तन ल्याउन चलचित्रले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “अझै धेरै जनजाति समुदायका चलचित्रहरू बन्नुपर्छ । यी चलचित्रको माध्यमबाट हाम्रो जाति र सम्प्रदायको पहिचानलाई विश्व समाजमा चिनाउन र हामीप्रतिको मानसिकतामा परिवर्तन ल्याउनसक्नुपर्छ ।”
कार्यक्रममा महासंघका अध्यक्ष पुर्खाजित राईले विभिन्न समुदायको संस्कार, संस्कृति, भाषा, रैथाने ज्ञानसीप, प्राकृतिक क्षेत्रको पर्यटन विकास गर्दै र पहिचानलाई संरक्षण गर्न आदिवासी जनजाति चलचित्रकर्मीले मातृभाषामा चलचित्र निर्माण गरिरहेको बताउनुभयो ।
Categorized in पेजथ्री