अर्थमन्त्री शर्माले दिए राजीनामा
SamacharDesk | २०७९ आषाढ २२, बुधबार

अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रीको पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । उहाँले बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्नुहुँदै सो घोषणा गर्नुभएको हो ।
गत जेठ १४ गते राति बजेटको अन्तिम तयारी भईरहेको बेला अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत ब्यक्तिलाई अन्त्रालयमा भित्र्याएर करका दरमा अनधिकृत हस्तक्षेप गराएको भन्ने आरोप अर्थमन्त्रीलाई लागेको थियो ।
प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय छानबिन समिति बनाउनुपर्ने अडान कायम राखेपछि समिति गठन हुने भएको हो ।
अर्थमन्त्री शर्माले ११ सदस्यीय संसदीय विशेष छानबिन समितिलाई छानबिन गर्न सजिलो होस् भनी पदबाट राजीनामा दिएको घोषणा गर्नुभयो ।
यसअघि सीसीटिभी फुटेका सम्बन्धमा मन्त्रालयले उक्त रातको सीसीटीभी फुटेज नै मेटिएको दाबी गर्दै फुटेज दिन अस्वीकार गरेको थियो ।
यस सम्बन्धमा मन्त्री शर्माले मन्त्रालयमा राखिएको सिसिटिभीको क्षमताका बारेमा थाहा नभएको र आफूले त्यसका बारेमा कुनै चासो नराखेको बताउनुभयो ।
विगतमा अनधिकृतरूपमा सुपारी, केराउ र मरिच आयात गरेर तस्करी गर्ने गरिएको जानकारी दिँदै उहाँले त्यसलाई आफूले रोकिदिएको बताउनुभयो ।
अर्थमन्त्री शर्मामाथि छानबिन गर्नका लागि संसदले ११ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
समितिमा सांसदहरु खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल ९गौतम०, प्रदीपकुमार ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सीताराम महतो, सरलाकुमारी यादव र सुरेन्द्रप्रसाद यादव हुनुहुन्छ ।
Categorized in राष्ट्रिय