नेपालमा कोरोनाको कारण पहिलो मृत्यु
SamacharDesk – विकाश | २०७७ जेठ ३, शनिबार

धुलिखेल अस्पतालमा मृत्यु भएकि सुत्केरीको मृत्युको कारण कोरोना संक्रमण नै भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले सुत्केरीको मृत्युको बारेमा विस्तृत विवरण लिइएको र कोभिडसँग सम्वन्धित थप परिक्षण पश्चात उनको मृत्यु कोरोनाभाइरस (कोभिड १९)कै संक्रमणकै कारण भएको जनाएका छन् ।
साथमा, नेपालमा कोभिड १९ का कारण मृत्यु भएको यो पहिलो घटना भएको पनि पुष्टि गरेको छ । कोरोना संक्रमण कारण नेपालमा पहिलो मृत्यु भएको छ ।
सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोभिड–१९ को संक्रमणका कारण मृत्यु भएको हो ।
मृतकको शव दाहसंस्कारको लागि पशुपति आर्याघाट ल्याइएको छ । नेपाली सेना र प्रहरीको टोलीले शब ल्याएको हो ।
गत वैसाख २४ गते त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएपछि उनको साथै जन्मिएका बालकको पनि स्वास्थ्य अवस्था सामान्य नै थियो ।
२५ गते डिस्चार्ज भएर बाह्रबिसे ९ राम्चेस्थित घर फर्किएकी उनलाई ज्वरो र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या देखिएको थियो ।
त्यसपछि उनलाई गत ज्येष्ठ १ गते उपचारका लागि बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो ।
त्यहाँ र्यापिड टेस्ट गर्दा नतिजा नेगेटिभ देखिएपनि कोरोनासँग लक्षण मिल्ने भएकाले उनलाई धुलिखेल अस्पताल रिफर गरिएको थियो ।
धुलिखेल अस्पताल ल्याउने क्रममा उनको निधन भएको थियो ।
धुलिखेल अस्पतालमै मृतकको स्वाब नमूनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो । रिपोर्ट शंकास्पद देखिएपछि थप परिक्षणका लागि स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।
त्यहाँ गरिएको परीक्षणमा पनि उनको रिपोर्ट पोजेटिभ नै आएको हो ।
पिसिआर रिपोर्टको साथै मन्त्रालयको टोलीले धुलिखेल अस्पतालमै गइ गरेको अध्ययनको रिपोर्टको आधारमा मन्त्रालयले महिलाको मृत्यु कोरोना संक्रमणकै कारण भएको घोषणा गरेको हो ।
यसैबीच मृतकको घर र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ सिल गरिएको छ ।
माइती गाउँबाट आफन्तहरु उनलाई भेट्न गएकाले त्यहाँ पनि सिल गरिएको बताइएको छ ।
शुरुमा स्वास्थ्य जाँच गराइएको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र पनि सिल गरिएको छ ।
Categorized in राष्ट्रिय