कोरोनाभाइरस विरुद्धको खोप मान्छेमा पहिलो परीक्षणको नतिजा राम्रो
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ ६, मंगलबार

कोरोना भाइरसविरुद्ध पहिलोपटक मानिसमा परीक्षण गरिएको खोपले रोग प्रतिरोधक क्षमता वढाएको उत्पादक कम्पनीले जनाएको छ ।
नेशनल इन्स्टिच्युट अफ हेल्थको साझेदार बायोटेक कम्पनी ‘मोडेर्ना’ ले यो खोप बनाएको हो ।
मोडेर्नाले अमेरिकी समय अनुसार सोमबार साँझ अद्यावधिक गरेको जानकारी अनुसार एमआरएनए(१२७३ नामक खोप परीक्षण गरिएका स्वयंसेवकहरुमा आशा गरिए भन्दा बढी रोग प्रतिरोधी क्षमता बढेको पाइएको छ ।
कम्पनीले गत मार्च महिनाबाट खोपको मानवीय परीक्षण सुरू गरेको थियो । परीक्षणको क्रममा आठ जना स्वस्थ स्वयमसेवकलाई दुईचोटि खोप लगाइएको कम्पनीले जनाएको छ ।
पहिलो चरणमा आठ जना स्वस्थ व्यक्तिमा गरिएको परीक्षणको नतिजा सोमबार सार्वजनिक गर्दै उत्पादक कम्पनी मोडर्नाले भनेको छ, ‘आठ जना स्वस्थ स्वयंसेवीहरूमा गरिएको परीक्षणबाट यो खोप सुरक्षित देखिनुका साथै रोग प्रतिरोधक क्षमता बढाउन सफल भएको छ र शरीरमा यसका नकारात्मक असर पनि कम मात्र देखिएको छ ।’
कम्पनीका अनुसार खोप लगाइएकाहरुमा रोग प्रतिरोधी क्षमता कोरोनाभाइरससँग लडेर निको भइसकेका बिरामीको बराबर वा त्यसभन्दा ज्यादा पाइएको छ ।
योसँगै दोस्रो चरणको परीक्षण पनि चाँडै सुरू गर्ने कम्पनीले जनाएको छ । दोस्रो चरणमा ६०० जनामा खोप परीक्षण गरिनेछ ।
जुलाइमा तेस्रो चरणको परीक्षण गरिने र हजार जना स्वस्थ व्यक्तिलाई खोप लगाइने कम्पनीले जानकारी दिएको छ ।
यी तीनै परीक्षणबाट सकारात्मक नतिजा आयो भने यो वर्षको अन्त्य वा २०२१ को सुरूबाट व्यापक प्रयोगमा ल्याइने मोडर्नाका प्रमुख मेडिकल अधिकृत डा. ताल ज्याक्सले बताएका छन् ।
पहिलो चरणको परीक्षण सफल भएको भन्दै उनले आगामी परीक्षण पनि सफल भए सन् २०२१ को जनवरीसम्ममा खोप सर्वसाधारणका लागि उपलब्ध हुने बताए ।
मोडेर्नाले आठ जनामा दर्जनभन्दा बढी पटक यो खोप परीक्षण गरेको थियो । १८ देखि ५५ वर्षसम्मका कूल ४५ जना स्वस्थ मान्छेमा गरिएको सबै परीक्षण सकारात्मक आएको छ ।
यो खोप परीक्षणमा सहभागी नभएका खोप विज्ञहरुले पनि यसलाई ठूलो उपलब्धि भएको बताएका छन् ।
यस अघि मोडेर्नाले यो खोप मुसाहरूमा पनि परीक्षण गरेको थियो । पहिला केही मुसालाई खोप लगाइ पछि तिनै मुसालाई कोरोना भाइरसबाट संक्रमित गराइएको थियो ।
यसरी संक्रमित गराउँदा मुसाको जीउभरि भाइरस फैलिनबाट रोकिएको थियो ।
खोप लगाइएका मुसामा पनि भाइरससँग लड्न एन्डिबडी विकास भएको कम्पनीले जनाएको छ ।
कम्पनीले न्यून, मध्यम र उच्च गरि खोपको तीनवटा डोज परीक्षण गरेको छ ।
खोप लगाइएकामध्ये एक जनामा थोरै ‘साइडइफेक्ट’ देखिएको कम्पनिले बताए । उनको खोप लगाइएको पाखुराको भाग रातो भएको थियो ।
उच्च डोजको खोप लगाइएका मध्य तीन जनालाई भने ज्वरो आउनुका साथै जीउ र टाउको दुख्ने लक्षण देखिएको तर यी लक्षण केही दिनमै हराएको डा. ज्याक्सले बताए ।
पहिलो चरणको परीक्षणका आधारमा कम डोजको खोपले नै सकारात्मक नतिजा देखाएकाले उच्च डोजको खोप आगामी परीक्षणमा प्रयोग नगरिने कम्पनीले बताएको छ ।
‘थोरै डोजले नै राम्रो काम गरेको अवस्थामा उच्च डोज परीक्षण गर्नु आवश्यक देखिएन । ‘डोज जति थोरै भयो उति धेरै खोप तयार पार्न सकिन्छ’, कुरा डा.ज्याकले भने ।
यो परीक्षणसँगै मोडर्नाको सेयर मूल्य भने बढेको छ । कम्पनीले सोमबार प्रारम्भिक नतिजा सार्वजनिक गरेलगत्तै यसको सेयर मूल्य २३ प्रतिशतभन्दा बढीले वृद्धि भएको थियो ।
Categorized in अन्तर्राष्ट्रिय