नेपालको पहिलो स्थानीय संक्रमित पनि कोरोना मुक्त भइन्
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ बैशाख २६, शुक्रबार

धनगढीकी कोरोना संक्रमित महिला पनि कोरोना संक्रमणलाई जितेर घर फर्केकी छिन् ।
नेपालको पहिलो स्थानीय कोरोना संक्रमित महिला ३६ दिनपछि सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएर घर फर्केकि हुन् ।
चैत्र २२ गतेदेखि अस्पतालमा उपचाररत ३४ वर्षीय महिला ३६ दिनपछि घर फर्किएकी हुन् ।
२४ घन्टाभित्रमा लगातार दुई पटकसम्मको रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको सेती अस्पतालका कोरोना रोग उपचार विभागले जनाएको छ ।
यसभन्दा अघि उनको ६ पटकसम्मको रिपोर्ट पोजेटिभ आएको थियो ।
दुबईबाट आएका उनको देवरलाई गत चैत्र १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसपछि उनको परिवारको पनि परिक्षण गर्दा संक्रमित पुरुषको भाउजु पर्ने ती महिलामा पनि संक्रमण देखिएको थियो ।
योसँगै हाल सेती अस्पतालमा भर्ना भएका पाँचै जना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
सुदूरपश्चिममा वैशाख १ गते पछिल्लो पटक कोरोनाको संक्रमण देखिएको थियो भने २६ दिनयता उक्त प्रदेशमा कुनै संक्रमित भेटिएको छैन ।
सुदूरपश्चिममा परिक्षण नै निकै कम भएको कारण संक्रमण नदेखिएको आशंका पनि गरिएको छ ।
सुदूरपश्चिम प्रदेशमा भारतबाट ठूलो संख्यामा मानिस भित्रिएका छन् ।
Categorized in राष्ट्रिय