arin enterprises

चलचित्र पत्रकार संघको राष्ट्रिय भेला जेठमा इलाममा हुने

SamacharDesk – बिजयरत्न | २०८२ बैशाख १५, सोमबार

नेपालका चलचित्र पत्रकारहरुको छाता संगठन चलचित्र पत्रकार संघ नेपालले २६औँ वार्षिक उत्सव इलाममा गर्ने भएको छ ।

संघले २६औं वार्षिक वार्षिकोत्सवको साथै राष्ट्रिय चलचित्र पत्रकारिता दिवस, दोस्रो राष्ट्रिय भेला–२०८२ इलामको श्रीअन्तुमा आयोजना गर्न लागेको हो ।

संघको केन्द्रीय समितिको गत आइतबार बसेको बैठकले जेठ ६ गतेदेखि ९ गतेसम्म श्रीअन्तुमा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।

कार्यक्रम अन्तर्गत बृहत राष्ट्रिय चलचित्र पत्रकारिता कार्यशाला समेत सञ्चालन गरिने बताइएको छ । कार्यशालामा नेपाली चलचित्र पत्रकारिताको वर्तमान अवस्था, बदलिँदो परिदृश्य, सम्भावना र चुनौतीबारे गहन छलफल गरिने योजना संघको रहेको छ ।

संघले कार्यशालालाई चलचित्र पत्रकारहरूको क्षमता अभिवृद्धि र सञ्जाल विस्तारका लागि महत्वपूर्ण अवसरको रूपमा लिएको जनाएको छ ।

चलचित्र पत्रकार संघ नेपालले वार्षिक उत्सव तथा राष्ट्रिय भेला मार्फत संस्थागत एकता बलियो बनाउने, नयाँ पुस्ताका पत्रकारहरूलाई उत्प्रेरित गर्ने र चलचित्र पत्रकारिताको क्षेत्रमा थप सक्रियता ल्याउने लक्ष्य राखेको छ ।

यस पटकको भेला विशेष गरी युवा पत्रकारहरूलाई नेतृत्व विकास र पेशागत दक्षता अभिवृद्धितर्फ केन्द्रित रहने बताइएको छ ।

कार्यक्रमको विस्तृत कार्यतालिका र सहभागीहरूको अन्तिम नामावली चाँडै सार्वजनिक गरिने संघले जनाएको छ ।

Categorized in पेजथ्री
SKIP THIS buddhan jayanti 2082