बाढी पहिरोबाट २२४ को मृत्यु, १७ अर्ब बराबरको भौतिक क्षति
SamacharDesk | २०८१ आश्विन १५, मंगलबार
सरकारले असोज ११ र १२ गतेको काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा गएको बाढीपहिरो र डुबानले अहिलेसम्म मृत्यु हुनेहरुको संख्या २२४ जना पुगेको जनाएको छ ।
मंगलबर प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा उक्त कुरा जानकारी गराइएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको तर्फबाट मुख्यसचिव एकनारायण अर्यालले अझै २४ जना बेपत्ता रहेको तथा १ सय ५८ जना घाइते भएको बताउनुभयो ।
विपद्को घटनाबाट काभ्रेपलान्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुरसहित २१ जिल्ला बढी प्रभावित भएका छन्।
बाढी पहिरोपछि सरकारले उद्धार तथा खोजीका लागि ३० हजार बढी सुरक्षाकर्मी परिचालन गरेको र चार हजार ३ सय ३१ जनाको उद्धार गरेको उहाँको भनाइ थियो ।
यस्तै भौतिक क्षतितर्फ २१ जिल्लामा १७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान गरिएको पनि उहाँले बताउनुभयो ।
काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धादिङ र मकवानपुर बढी प्रभावित भएको पनि अर्यालले बताउनुभयो ।
खानेपानीका संरचनामा ३ अर्ब ५५ करोड, सडक संरचनामा २ अर्ब ५२ करोड, ऊर्जा पूर्वाधारमा ४ अर्ब रुपैयाँ र सिंचाईमा एक अर्बको नोक्सानी भएको प्रारम्भिक विवरण मुख्य सचिव अर्यालले बताउनुभयो ।
Categorized in राष्ट्रिय