बाढीपीडितहरुलाई सरकारले राहत रकम उपलब्ध गराउने
SamacharDesk | २०८१ आश्विन १४, सोमबार
बाढीपहिरो लगायतका मनसुनजन्य विपमा परेकाहरुलाई विपद् व्यवस्थापन कार्यकारिणी समितिले राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।
बेपत्ता भएको १० दिनसम्म पनि फेला नपरे मृतकसरह नै राहत रकम परिवारलाई उपलब्ध गराउने निर्णय सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले गरेको छ।
विगत तीन दिनदेखिको भारी वर्षातका कारण विपद् प्रभावित क्षेत्रमा खोज उद्धारका बाँकी कार्यलाई निरन्तरता दिँदै मौसमजन्य विपद् प्रभावितहरुका लागि राहत वितरणको प्रक्रिया एकद्वारा प्रणालीबाट तत्काल सुरु गर्ने निर्णय पनि गरेको छ ।
विपदमा घरवास गुमाएका परिवारलाई अस्थायी आवास निर्माणका लागि विपद् प्रभावित व्यक्तिहरुका लागि सात दिनभित्र अस्थायी आवास निर्माण अनुदानसम्बन्धी मापदण्ड, २०८१ बमोजिमको अनुदान रकमको पहिलो किस्ता तत्काल उपलब्ध गराउने निर्णय गरेको छ ।
घरबास गुमाएकाहरुलाई तत्कालका लागि २५ हजार रुपैयाँ उपलब्ध गराइने छ । बैंक खाता भएकालाई बैंकमा जम्मा गरिदिने र बैंक खाता नभएकाले चेक पाउने छन् ।
चेक साट्न भने बैंकमै पुग्नुपर्ने छ । त्यसबाहेक जिल्ला प्रशासन कार्यालयले तत्कालका पाँच जनासम्मको परिवारलाई १५ हजार र पाँच भन्दा बढी सदस्य भएका परिवारलाई २० हजार रुपैयाँको दरले राहत रकम पनि उपलब्ध गराउने छ ।
साथै खानेपानी, बिजुली, बिजुली, स्वास्थ्य संस्था सम्बन्धित काम र पुनर्निर्माण सम्बन्धित मन्त्रालयले गर्ने निर्णय पनि बैठकले गरेको छ । विपद् पश्चात पैदा हुनसक्ने महामारीजन्य रोग व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयले काम गर्ने छ ।
साथै सहायताका लागि विकास साझेदारहरुलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ । समितिका एक सदस्यका अनुसार संयुक्त राष्ट्रसंघ, रेडक्रस लगायत नेपालभित्र क्रियाशील विकास साझेदारहरुले उपलब्ध गराउने कोष परिचालन गर्ने उद्देश्य अनुसार सो निर्णय भएको हो ।
यसैगरी, बैठकले विपद् पश्चात फैलिनसक्ने महामारीको आँकलन गरी महामारीजन्य रोग फैलिन नदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सम्भाव्य र उपयुक्त स्थानमा जनचेतना, स्वास्थ्य शिविर लगायतका कार्यक्रम सञ्चालन गर्ने, देशका विभिन्न स्थानहरुमा मनसुनजन्य विपद्का कारण क्षति भएका सडक, सार्वजनिक भवन, खानेपानी, विद्युत, विद्यालय, स्वस्थ्य संस्थाहरुको पुनर्निर्माण कार्य सम्बन्धित मन्त्रालयले अघि बढाउने निर्णय पनि गरेको छ ।
Categorized in राष्ट्रिय