arin enterprises

काठमाडौंको विभिन्न स्थान डुबानमा

SamacharDesk | २०७९ श्रावण २५, बुधबार

हिजो राती आएको भीषण वर्षाका कारण उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छन् ।

रातभरी परेको पानीले डुबान भएपछि सर्वसाधारणको उद्धार समेत गर्नुपरेको छ । भक्तपुरको नगरकोट, काठमाडौंको धाप, सुन्दरीजललगायतको क्षेत्रमा भारी वर्षा भएको र वर्षाले पुण्यमति, हनुमन्ते, मनोहरा र बागमती नदीमा आएको बाढी नदी किनारका बस्तीमा पस्दा डुबान भएको हो ।

भक्तपुरमा मनोहरा खोलाको बाढीले व्यापक क्षति पुर्याएको छ । चाँगुनारायण र मध्यपुर ठिमीमा करीब एक सय घरमा क्षति पुगेको छ । खोला किनारमा रहेका बंगुर तथा गाई फार्ममा बाढी पसेको छ भने केही बंगुर बाढीमा बगेका छन् ।

काठमाडौंको काँडाघारीको बस्ती पनि डुबानमा परेको छ । त्यहाँको प्रहरी प्रभागमा बाढी पस्दा प्रहरी कार्यालयभित्र रहेका खाद्यान्नलगायत सामग्री बाढीले बगाएको छ भने कार्यालय पछाडि पार्किङ गरिएका तीन वटा मोटरसाइकल पनि बाढीले बगाएको प्रहरीले जनाएको छ ।

विष्ट गाउँका घरहरु एक तलासम्म डुबेका छन् । सुकुम्वासी वस्तीका केही टहरा भत्केका छन् भने काँडाघारी क्षेत्रमा बिजुली पनि अवरूद्ध भएको छ ।

साना ठूला गरी आधा दर्जन बढी सवारी साधन पनि बाढीले बगाएको छ । स्थानीय गाईगोठमा रहेका सात जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । त्यस क्षेत्रमा अहिले उद्धारका लागि प्रहरी परिचालन गरिएको र अहिलेसम्म समस्यामा परेका १५ जनालाई सुरक्षित स्थानमा लगिएको प्रहरीले बताएको छ ।

नदी किनारका सडक पनि भास्सिएकाले आवतजावत नै अवरुद्ध भएको छ । यस्तै काठमाडौंकै शंखमूल क्षेत्रमा पनि नदी बाटोसम्मै आएको थियो भने धोबीखोला करिडोर क्षेत्रमा पनि बाढी घर घरमा पसेको छ ।

ललितपुरमा पनि विभिन्न स्थानमा नदी बस्तीमा पसेको छ । खोकना क्षेत्रमा जल सतह बढेपछि उच्च सतर्कताको सूचना जारी गरिएको थियो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ६ बजेसम्म त्रिभुवन विमानस्थलमा ७५ दशमलव १ मिलिमिटर वर्षा मापन गरिएको छ । महाशाखाले गएराती उपत्यकासहित देशका विभिन्न स्थानमा भीषण वर्षा भएको जनाएको छ ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको र आज दिनभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।

प्रदेश–१, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Categorized in राष्ट्रिय