फोनिजको रजत वर्ष समारोह आयोजना हुँदै
SamacharDesk – बिराज | २०८१ श्रावण २२, मंगलबार

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को रजत वर्ष समारोह आयोजना गरिने भएको छ ।
यस वर्ष फोनिज स्थापनाको २५ बर्ष पूरा गरि २६ बर्ष प्रवेश गरेको अवसरमा स्थापना दिवसको साथै रजत बर्ष समारोहको आयोजना गरिन लागेको हो ।
हरेक वर्ष श्रावण २७ गतेका दिन स्थापना दिवसको अवसरमा महासंघले दिँदै आएको सम्मान तथा पुरस्कार यस वर्ष पनि निरन्तर हुँदैछ ।
रजत वर्ष समारोहमा विभिन्न पत्रकारहरुलाई विभिन्न पुरस्कार र सम्मानबाट पुरस्कृत एवम् सम्मानित गर्न लागिएको छ ।
फोनिज राष्ट्रिय पत्रकारिता सम्मान २०८१ बाट अनलाईनतर्फ वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधर र टेलिभिजनतर्फ पुष्पहरि क्याम्पा राईलाई सम्मानित गरिँदैछ । यस सम्मानको राशी २५ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै फोनिज मातृभाषा पत्रकारिता सम्मान २०८१ थारु भाषाको माध्यमबाट पत्रकारिता गरिरहेका लौव अग्रासनलाई दिइने भएको छ ।
फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार २०८१ सटेन्द्र जबेगु, विष्णु तामाङ र खिमा गुरुङलाई प्रदान गर्न लागिएको छ । यस पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ ।
फोनिजको श्रावण २२ गते सम्पन्न सचिवालय वैठकले सम्मान र पुरस्कारको लागि प्रस्तावित नाम अनुमोदन गरेको हो ।
फोनिजको संघीय सचिवालय बैठकले पुरस्कार तथा सम्मानको छनौटका लागि पुरस्कार तथा सम्मान छनौट समिति गठन गरेको थियो ।
सोही समितिले प्रक्रिया बमोजिम सम्मान र पुरस्कारका लागि पत्रकार र संस्थाको नाम छनौट गरी संघीय सचिवालयलाई बुझाएको र सचिवालयको बैठकले नाम अनुमोदन गरेको फोनिजले जनाएको छ ।
Categorized in समाज