सामाजिक सञ्जालमा प्रतिबन्धित ट्रम्पले सुरू गरे आफ्नै वेबसाइट
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख २२, बुधबार
फेसबुक, ट्वीटरलगायतका सामाजिक संजालमा प्रतिवन्धित भएका पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै वेबसाइट सुरु गरेका छन् । आफ्ना सूचनाहरु संचार गर्नका लागि पूर्व राष्ट्रपति ट्रम्पले डोनाल्डजेट्रम्प.कम वेबसाइट सुरू गरेका हुन् ।
वेबसाइटमा ट्रम्पका तस्बिर, भिडियो र उनका सन्देशहरु राखिएका छन् । साथै ट्रम्पले वेबसाइटमा कुनै नयाँ पोष्ट गर्ने बित्तिकै नोटिफिकेसन आउने गरी साइन इन अप्सनसमेत राखिएको छ ।
त्यस्तै ट्रम्पले त्यहाँ गरेका पोष्टहरु फेसबुक र ट्वीटरमा सेयर गर्न मिल्ने पनि बनाइएको छ । तर पोष्टमा कमेन्ट गर्ने सुविधा भने दिइएको छैन ।
मंगलबारबाट सञ्चालनमा आएको उक्त वेबसाइटबारे सामाजिक सञ्जाल प्रयोगकर्तामाझ निकै चर्चा भइरहेको छ । धेरैले उनलाई ब्लगरको रूपमा सामाजिक सञ्जालमा फर्किएको भन्दै खिल्लीसमेत उडाएका छन् ।
त्यस्तै ट्रम्पका बरिष्ठ सल्लाहकार जेसोन मिलरले ट्वीटरमा यो वेबसाइट सामाजिक सञ्जाल नभएको र पूर्वराष्ट्रपति ट्रम्पको पहिलो कार्यकालका महत्वपूर्ण काम र पछिल्ला वक्तव्य उपलब्ध हुने स्रोत भएको भनी ट्विट गरेका छन् ।
गत जनवरी ६ मा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन विजयी भएको घोषणा गर्न बसेको कांग्रेसको संयुक्त बैठकलाई बिथोल्न ट्रम्पका समर्थकहरुले सुरक्षा बार तोड्दै हलमा प्रवेश गरेका थिए । त्यसपछि हिंसालाई उक्साउने पोस्ट गरेको आरोपमा ट्वीटर, फेसबुक लगायत अन्य सामाजिक सञ्जाल कम्पनीले ट्रम्पको अकाउन्ट निलम्बित गरिदिएका थिए ।
Categorized in अन्तर्राष्ट्रिय