वैदेशिक रोजगारीमा पठाइदिने भन्दै करोड बढि ठगी गर्ने चार जना पक्राउ
SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०८१ माघ १६, बुधबार

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै १ करोड भन्दा बढि रकम ठगी गरेको आरोपमा ४ जना व्यक्ति काठमाडौंबाट पक्राउ परेका छन् ।
विभिन्न देशमा आकर्षक तलबमा रोजगारीमा पठाइदिने भन्दै विभिन्न व्यक्तिहरुबाट १ करोड २४ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन पुरुष र र एक महिलासहित चार जनालाई पक्राउ गरेको हो ।
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरुमा लैजाने भन्दै झुक्याई पैसा उठाएर सम्पकै विहिन भई बसेको अवस्थामा प्रहरीले तिनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले सल्यान जिल्ला छत्रेश्वरी गाउँपालिकाका हाल काठमाडौं महानगरपालिका वडा नम्बर १४ बस्दै आएका २५ वर्षीय सुनिल दसौदीलाई टेकुबाट पक्राउ गरेको थियो ।
दसौदीले एक जनाबाट सर्बिया पठाइदिने भन्दै २२ लाख ३८ हजार रुपैयाँ उठाएको बताइएको छ ।
त्यसैगरी पक्राउ परेका अर्का व्यक्ति काभ्रेपलाञ्चोकका हाल ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका बस्दै आएका विकास दवाडीले जापान पठाइदिने भन्दै दुई जना व्यक्तिबाट ३ लाख रुपैयाँ उठाएको बताइएको छ ।
गोरखा जिल्ला शहिदलखन गाउँपालिकाका हाल काठमाडौं महानगरपालिका वडा १६ मा बस्दै आएका ३७ वर्षीय सुरेन्द्र वि.क. पनि पक्राउ परेका छन् ।
वि.क.ले एक जना व्यक्तिलाई अमेरिका पठाइदिने भन्दै ९७ लाख ५४ हजार रुपैयाँ उठाएको पाइएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्ने महिला काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिकाका २४ वर्षीया विशाखा पौडेलले कुवेत पठाइदिने भन्दै एक जना व्यक्तिबाट एक लाख ६० हजार रुपैयाँ उठाएकी थिइन् ।
पक्राउ पर्ने चारै जनालाई थप अनुसन्धान र आवश्यक कारवाहीका लागि सम्वन्धि कार्यालय पठाइएको छ । दसौदी, दवाडी र पौडेललाई वैदेशिक रोजगार विभाग पठाइएको छ भने वि.क.लाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
यस सम्वन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
Categorized in अपराध