arin enterprises

चौथो नेपालभाषा साहित्य नखः कीर्तिपुरमा हुने

SamacharDesk – बिराज | २०७८ चैत्र ८, मंगलबार

नेपालभाषा साहित्य क्षेत्रको सबैभन्दा ठुलो उत्सवको रुपमा लिइने नेपालभाषा साहित्य नखःको चौथो संस्करण कीर्तिपुरमा हुने भएको छ ।

नेपालभाषाको दैनिक पत्रिका नेपालभाषा टाइम्सले वर्षेनी आयोजना गर्दै आएको महोत्सव यस वर्ष आउँदो चैत्र ११ गते शुक्रबार र १२ गते शनिबार दुई दिन कीर्तिपुरमा हुन गइरहेको हो ।

कीर्तिपुर नगरपालिकाको सहयोगमा हुन लागेको महोत्सवको नाम नै ‘किपू नगरपालिका प्यक्वःगु नेपालभाषा साहित्य नखः’ राखिएको छ ।

सोमबार कीर्तिपुर नगरपालिका भवनमै पत्रकार सम्मेलनको आयोजना गरी आयोजक संस्थाले महोत्सवको बारे जानकारी दिएको थियो ।

दुई दिने महोत्सवको उद्घाट सत्र कीर्तिपुर न्यामासिमास्थित नेपालभाषा एकेदमिमा हुनेछ भने महोत्सवका अन्य कार्यक्रम लायकूमा हुनेछ । त्यस्तै दोश्रो दिनको महोत्सव शनिबार पाङ्गामा हुने बताइएको छ ।

दुई दिने महोत्सवको दौरान विविध विषयमा अन्तरक्रिया, ४० जना साहित्यकारहरुबाट कविता, कथा, लघुकथा, मुक्तकलगायतका साहित्यिक रचना पाठको साथमा प्रहसन, नाटक, सांस्कृतिक कार्यक्रमको साथमा सम्पदा भ्रमणसमेत हुने बताइएको छ ।

यसैगरी बुक स्टलको साथमा फुड स्टलहरु पनि रहनेछ ।

हरेक प्रस्तुति विशेष प्रस्तुति

पत्रकार सम्मेलनमा बोल्दै कीर्तिपुर नगरपालिका प्रमुख रमेश महर्जनले कीर्तिपुरको साहित्य र कलाकारीता क्षेत्रलाई अझ व्यापक बनाउन महोत्सवलाई नगरपालिकाले साथ दिएको बताउनुभयो । 

महोत्सव संयोजक रमेशकाजी स्थापितले महोत्सवमा हरेक प्रस्तुतिलाई विशेष प्रस्तुतिको रुपमा तयार गरिएको दावी गर्नुभयो ।

महोत्सवका सह संयोजक सुरेश किरण मानन्धरले कीर्तिपुरलाई विश्व सम्पदामा सुचिकृत गरिनुपर्ने आवाज उठिरहेकै बेला कीर्तिपुरमै महोत्सव हुन लागेको सुखद रहेको बताउनुभयो ।

साहित्यिक क्षेत्रमा साहित्यको रचना, पाठ र श्रवण मात्र नभई यसलाई एउटा चाड जस्तै उत्सवको रुपमा मनाउन सकिन्छ भनेर साहित्य नखःले प्रमाणित गरिसकेको र यस सोचलाई अझ व्यापक बनाउँदै चौथो महोत्सवको आयोजना गरिएको मानन्धरले दावी गरे ।

नगर प्रमुखहरुको सम्मान

महोत्सवको उद्घाटन सत्रमा कीर्तिपुर नगरपालिका प्रमुख रमेश महर्जन, उप प्रमुख सरस्वती रिजाल खड्का, काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्य र ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनलाई सम्मान गरिनेछ ।

स्थानीय विषयको पाठ्यक्रम नेपालभाषामा बनाई लागू गरेको भन्दै यो सम्मान दिन लागिएको आयोजक संस्थाले जनाएको छ ।

पाँचवटा पुस्तकको विमोचन

उद्घाटन सत्रमै विभिन्न पाँच वटा पुस्तकको विमोचन गर्न लागिएको छ ।

पूर्णराम मुनंकर्मीको निबन्ध ‘नेवाः गौरव’, महाकवि गिरिजाप्रसाद जोशीबाट लिखित विभिन्नको उपन्यासको संकलन ‘गिरिजाप्रसादया उपन्यास’, रामभक्त कायस्थको हाइकु मुना ‘लखय् लूगु किचः’, स्नेह सायमिको लघु कथा संग्रह ‘स्नेह साय्मिया चिबाखं’ र राजेन्द्र कुमार ‘पुता’को सांस्कृतिक उपन्यास ‘खिउँफल्चा’को विमोचन गरिनेछ ।

विभिन्न विषयमा अन्तरक्रिया

महोत्सवको पहिलो दिन ‘नेवाः ऋतु गीत’ विषयमा वरिष्ठ संगितज्ञ रामकृष्ण दुवालसँग संगीतकर्मी पवित्र कसाःले अन्तरक्रिया गर्नुहुनेछ ।

दोश्रो दिनमा कीर्तिमानी सगरमाथा आरोही पत्रकार कल्पना महर्जनले पर्यटकीय सम्भावना विषयमा अन्तरक्रिया कार्यक्रम संचालन गर्नेछिन् ।

यस विषयमा वरिष्ठ संस्कृतिविद प्रयागमान प्रधान, कीर्तिपूर नगरपालिका वडा नं. २ का अध्यक्ष रमेशमान डंगोल र नेवाः लहनाका अध्यक्ष राजमान मानवसँग अन्तरक्रिया गरिनेछ ।

‘नेपालभाषा पठनपाठन’ विषयमा ललितपुर महानगरपालिका स्थानीय पाठय्क्रम विकास समितिका सहसंयोजक तुलसीलाल सिंह, काठमाडौं महानगरपालिका शहरी योजना आयोगकी सदस्य गुजेश्वरी श्रेष्ठ र कीर्तिपुर नगरपालिका शिक्षा समितिका सदस्य डा. वज्रमुनि वज्राचार्यसँग पत्रकार, साहित्यकार सुरेश किरणले अन्तरक्रिया गर्नेछन् ।

प्रहसन साथै सांस्कृतिक कार्यक्रम

महोत्सवमा लक्ष्मीकुमार महर्जन, रामकृष्ण खड्गी र भिमसेन रिसालको ३ वटा प्रहसनको साथमा लक्ष्मीकुमार महर्जनको एकाङ्कि नाटक पनि प्रस्तुत गरिनेछ । प्रहसनमा चर्चित हास्य कलाकार रवि डंगोल ‘सुकुचा’ समेतले अभिनय गर्नेछन् ।

सांस्कृतिक कार्यक्रममा किपू आइडलका विजेता, सहभागीसँगै चर्चित गायक, गायिकाहरुको प्रस्तुति रहनेछ ।

हरिशरण सायमि, सतिस महर्जन, निशा देशार, रत्नशोभा महर्जन, सरिता शाही, रानीशोभा महर्जन, दीपा महर्जन, रोजी श्रेष्ठ, स्वस्ति महर्जन, राजेश महर्जन, मथुरा महर्जन, राजेन्द्र श्रेष्ठलगायतका गायक, गायिकाहरुले सांगितिक प्रस्तुति दिने बताइएको छ ।

साथमा कीर्तिपुर नगरपालिका वडा नंं १० का वडाअध्यक्ष अमन महर्जनले समेत स्ट्याण्डअप कमेडी प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

Categorized in पेजथ्री