बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने
SamacharDesk | २०८१ कार्तिक १२, सोमबार

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने जनाएको छ ।
देशको तीन ठूलो अस्पताल कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने मन्त्री पौडेलले मन्त्रीस्तरीय निर्णय भएको उहाँले बताउनु भएको हो ।
मंसिर १ गतेबाट उपचार निःशुल्क हुने गरी व्यवस्था मिलाइएको पनि मन्त्री पौडेलको सचिवालयले जनाएको छ । नेपालमा कुल हुने मृत्युमध्ये ७१ प्रतिशत नसर्ने रोगका कारण हुने गरेको तथ्यांक छ ।
त्यसमध्ये ११ प्रतिशतको क्यान्सरका कारण ज्यान जाने गरेको मन्त्रालय अन्तर्गतको इपिडिमियालोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । नेपालमा हरेक वर्ष करिब १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको छ ।
ती बालबालिकालाई परिवारको आर्थिक अभावमा मृत्युको मुखमा पर्न नदिन र समयमै उपचार गरेर ज्यान बचाउन उपचार निःशुल्क बनाउने निणर्य गरिएको मन्त्री पौडेलले बताउनुभयो। सरकारले क्यान्सर उपचारका लागि दिने रकमबाट अपुग रकम मन्त्रालयको आन्तरिक श्रोतबाट व्यवस्थापन गरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताउनुभएको छ ।
Categorized in राष्ट्रिय