इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८२ कार्तिक २१, शुक्रबार
कर्तव्य ज्यान मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ परेका छन् ।
पर्वत साविक बेउलीबास गाविस–३ का रेशम बहादुर रानालाई युएईबाट पक्राउ गरी आज (शुक्रवार) नेपाल फिर्ता ल्याइएको हो । रानालाई एनसिबि अबुधाबी युएईको समन्वयमा युएईबाट पक्राउ गरी नेपाल फिर्ता ल्याइएको हो ।
रानालाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत पर्वतले २०६९ माघ १५ गते जन्म कैदको फैसला गरेको थियो । त्यसैबेलाबाट राना फरार रहँदै आएका थिए ।
रानालाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास र पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ जेठ १९ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।
रानालाई सम्बन्धित कसूर बमोजिम कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटि आएका प्रहरीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।
Categorized in अपराध




