arin enterprises

गद्दी बैठक सार्वसाधारणका लागि खुला

SamacharDesk | २०७८ चैत्र १६, बुधबार

वसन्तपुरस्थित गद्दी बैठक मंगलबारबाट सार्वसाधारणका लागि खुला गरिएको छ । 

२०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्‍याएको गद्दी बैठकलाई अमेरिकाको एम्बासडर्स फण्ड फर कल्चरल प्रिजर्भेसनअन्तर्गत मिया मोटो भन्ने कम्पनी र संस्कृति सम्पदा कोष मिलेर जीर्णोद्धार गरिएको हो । 

इन्द्रजात्राको अवसरमा राष्ट्राध्यक्षसहित विशिष्ट पाहुनाहरुले मात्र प्रवेश पाउने गद्दी बैठक पुनर्निर्माणपछि सर्वसाधारणका लागि अवलोकन प्रयोजनार्थ खुल्ला गरिएको हो ।

योसँगै गद्दी बैठकको तल्लो तलामा रहेका तीनवटा ग्यालरीमा ऐतिहासिक हातहतियार र वृत्तचित्र पनि सर्वसाधारणले अवलोकन गर्न सकिने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए ।

गद्दी बैठकको भुइँ तलामा एकीकरणदेखि गणतन्त्रसम्मको राजनीतिक परिचय दिने विभिन्न किसिमका घटनाक्रम समेटेर प्रदर्शनको व्यवस्था गरिएको छ । उक्त कक्षमा पृथ्वीनारायण शाहले प्रयोग गर्नुभएका हातहतियारसमेत प्रदर्शनमा राखिएको छ ।

गद्दी बैठकको तल्लो तलामा प्रजातन्त्रदेखि गणतन्त्रसम्मका राजनैतिक परिचय दिने विभिन्न किसिमका घटनाक्रम समेटेर प्रदर्शनको व्यवस्था गरिएको छ । दरबारमा रहेका केही चोकहरु लगायत दरबारसँग सम्बन्धित १०० वर्ष अगाडिका फोटोहरु गोलघरमा प्रर्दशनी साथै गरगहानसम्बन्धी कक्ष यस अगाडि नै सर्वसाधारणका लागि खुला गरिएको थियो ।

भूकम्पपछि गद्दी बैठकको जीर्णोद्धार सम्पन्न गरेर २०७५ असार १३ गते अमेरिकी राजदूतावासले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । 

गद्दी बैठक तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले विसं १९६५ मा युरोपेली वास्तु शैलीमा निर्माण गर्नुभएको हो । तत्कालीन समयमा उक्त बैठक कक्षमा विदेशी पाहुनालाई ओहोदाको प्रमाणपत्र दिन र राज्यको महत्वपूर्ण बैठकका लागि प्रयोग गरिन्थ्यो । बैठकको दायाँतर्फ ११ पुस्ते शाहवंशीय राजाहरुको तस्बिर राखिएको छ । त्यस्तै ढोकाबाट प्रवेश गर्ने बित्तिकै एउटा काठबाट बनेको कलात्मक द्वार रहेको छ ।

Categorized in राष्ट्रिय