arin enterprises

यमपञ्चक अन्तर्गत आज गाइ पूजा गरिँदै

SamacharDesk – बिकाश | २०७७ कार्तिक ३०, आइतबार

आज कार्तिक शुक्ल प्रतिपदा, यमपञ्चक अन्तर्गत आज गाई र गोरुको पूजा गरिँदैछ ।

गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकोले आज गाईको पूजा गर्ने गरिएको धार्मिक विश्वास छ भने खेत जोत्नको लागि साथ दिने भन्दै गोरुलाई समेत आजै पूजा गर्ने गरिन्छ ।

आजै गोरुको साथमा जोत्ने हलीलाई समेत पूजा गरी खाना खुवाइन्छ ।

आजको दिनलाई गाई तिहार पनि भनिन्छ भने हलीको समेत पूजा गरिने भएको हलीतिहार पनि भन्ने गरिन्छ ।

आजै गोवर्ध्दन पहाडको प्रतिमा बनाएर गोवर्ध्दन पूजा पनि गरिन्छ ।

आजको दिन बेलुकी घरघरमा ‘देऊ शुभ’ भनी देउसी खेल्ने गरिन्छ । देऊ शुभ शब्दबाटै अपभ्रंश भई ‘देउसी’ हुन गएको बताइन्छ ।

नेवार समुदायमा कतै म्हपूजा कतै लक्ष्मीपूजा

नेवार समुदायमा भने कतै म्हपूजा गरिँदैछ भने कतै लक्ष्मी पूजा गरिँदैछ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले भने आज बिहान ११ः२७ बजे पछि औंसी तिथि सकिने र प्रतिपदा तिथि लाग्ने भएकोले आजै म्हपूजा गर्नुपर्ने भनेको छ । तर नेवार समुदायमा लाग्दो तिथिमा पर्व मनाउने प्रचलन नरहेको भन्दै आज लक्ष्मीपूजा गरिएको हो ।

लाग्दो तिथि अनुसार चाडपर्व मनाउने परम्परा रहेकाहरुले आज कार्तिक शुक्ल प्रतिपदाको तिथि अनुसार म्हपूजा गर्दैछन् भने सुर्योदयको तिथि अनुसार पर्व मनाउनेहरुले लक्ष्मीलाई भित्र्याइ लक्ष्मी पूजा गर्दैछन् ।

आज लक्ष्मीपूजा गर्नेहरुले बिहानै आफ्नो घरआँगनमा सफा सुग्घर लिपपोत गरी लक्ष्मीलाई घरको ढुकुटी कोठामा भित्र्याएका छन् । बिहान भित्र्याइएको लक्ष्मीलाई बेलुकी सबै परिवारजन बसेर पूजा गर्ने गर्दछन् ।

सो क्रममा घरको लालपूर्जा लगायतका सम्पत्ति विवरणको कागजपत्रहरु, नयाँ भित्र्याइएको धान आदि राखेर पूजा गरिन्छ ।

नेवार समुदायमा कुबेर र ख्याकसँगै बसेकी लक्ष्मीको हस्तलिखित तस्बीर राखेर पूजा गर्ने प्रचलन रहेको छ ।

म्हपूजा अर्थात आफ्नै पूजा

म्हपूजा गर्ने बेला परिवारका सबै ज्येष्ठताको आधारमा क्रमैसँग बसेर पूजा गर्ने गरिन्छ । घरमा पालिएका पशुपंछिलाई समेत लहरै बसाएर म्हपूजा गर्ने चलन छ ।

यसरी म्हपूजा गर्दा आफ्नो शरीरको प्रतिकको रुपमा मण्डप लेख्ने गरिन्छ ।

पञ्चतत्वले बनेको शरीरको प्रतिबिम्बको रुपमा पञ्चतत्वकै प्रतिक स्वरुप विभिन्न सामग्रीहरुको प्रयोग गरेर मण्डप बनाई सोही मण्डपमा पूजा गरिन्छ ।

घरको कोही सदस्य अनुपस्थित भए अनुपस्थित व्यक्तिको पनि मण्डप बनाएर पूजा गर्ने गरिन्छ ।

म्हपूजा गर्ने क्रममा घरको ज्येष्ठ महिलाले सबैलाई पूजा गरी अण्डा सगुन दिने गरिन्छ ।

शरीरको पंचतत्व सधैं सन्तुलित भई शरीर स्वस्थ्य रहोस् भन्ने कामनासहित पंचतत्वकै प्रतीकको रुपमा अण्डा, माछा, मासु, मासको बारा र मदिरा समेतको अण्डा सगुन दिने गरिएको हो ।

Categorized in संस्कृति