पितृहरुको सम्झनामा सापारु (गाइजात्रा) मनाईंदै
SamacharDesk – राम डंगोल | २०८१ भाद्र ४, मंगलबार
दिवंगत पितृहरुको सम्झनामा नेवार समुदायले मनाउने पर्वमध्ये एक सापारु (गाईजात्रा) मनाइरहेको हो ।
काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा धुमधामका साथ यो पर्व मनाइन्छ । यो नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । गाईजात्रा नेवार संस्कृतिबाट सुरू भएको मानिन्छ ।
सापारु भनेर मनाउने यस पर्व नेवारहरूको मौलिक पर्व हो । दिवङ्गत आफन्तको सम्झना तथा आत्माको शान्तिका लागि सापारु पर्व मनाउने गरिन्छ । हिन्दुधर्म अनुसार यस पर्वका बारेमा पद्मपुराणमा उल्लेख छ ।
यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने र पृथ्वीलोकमा सापारु निकालेपछि यमलोकको ढोका खुल्ने र मृतआत्माहरूले यमलोक प्रवेशपाई मुक्ति पाउने गरुड पुराणमा उल्लेख भएको छ ।
गाईलाई नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । दिवङ्गत भएका आफन्तको सम्झनामा सापारुका सहभागीलाई श्रदालुले दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने चलन रहिआएको छ ।
ऐतिहासिक प्रमाण अनुसार पुत्रशोकले विहृवल भएकी आफ्नी रानीलाई दुनियाले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन मल्ल राजा प्रताप मल्लले जनतालाई आ-आफ्नो मरेका व्यक्तिका नाममा सापारु निकाली सहर परिक्रमा गराउनु भनी आज्ञा दिएको र यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको हो भन्ने जनविश्वास रहेको छ ।
यसै बेलादेखि प्रचलनमा आएको सापारु हनुमानढोका भएर जानुपर्ने प्रथा अझै पनि रहेको छ । यस पर्वका क्रममा प्रहसन सामाजिक विकृतिप्रति व्यङग्यात्मक प्रदर्शन नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणका कारुण रसका गीतहरू पनि गाईने चलन छ ।
सापारुका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिकरूपमा मनोराजनात्मक तथा व्यङग्यात्मक ढङ्गले विविध कार्यक्रको आयोजना गर्ने र पत्रपत्रिकाहरूमा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङक प्रकाशित गर्ने चलन पनि बढेको पाइन्छ ।
सापारु पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौँडा र पोखरामा पनि मनाइन्छ ।
Categorized in संस्कृति