arin enterprises

वरिष्ठ कलाकार गणेश सायमी जनस्तरबाट सम्मानित

SamacharDesk – राम डंगोल | २०८० आषाढ २३, शनिबार

नेपालभाषा आन्दोलनका अग्रज तथा वरिष्ठ एवं लोकप्रिय कलाकार गणेश सायमीलाई आज जनस्तरबाट नागरिक अभिनन्दन गरिएको छ ।

उहाँलाई अभिनन्द गर्न कलाकार राजेन्द्र शाक्यको संयोजनकत्वमा ५५ सदस्यीय समिति गठन गरेको थियो । सायमीले नेपाल भाषा तथा कलाकारिता क्षेत्रमा पुर्याउनु भएको अतुलनीय योगदानको उच्च मूल्यांकन गर्दै आज जनस्तरबाटै अभिननन्दन गरिएको हो ।

खुसिबुँस्थित एक पार्टी प्यालेमा गरिएको अभिनन्दन कार्यक्रम जनकवि दुर्गालाल श्रेष्ठको प्रमुख आतिथ्यमा भएको थियो । अभिनन्दन कार्यक्रममा कलाकार सायमीलाई उहाँकै निवासदेखि बाजागाजासहित सिन्दुर जात्रा गरी अभिनन्दन स्थलसम्म ल्याइपुर्याइएको थियो ।

सम्मान कार्यक्रममा नेवाः क्षेत्रका अग्रजहरु मल्ल के सुन्दर, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, राजेन्द्र मान शाक्य, पत्रकार सुरेशकिरण मानन्धर, १७ वडाका वडाध्यक्ष नविन मानन्धरलगायत विभिन्न व्यक्तित्वहरुले दोसल्ला तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरेको थियो । त्यस्तै विभिन्न संघसंगठनहरुले पनि सम्मानपत्र प्रदान गरिएको थियो ।

कलाकार सायमीले कलाकारिता क्षेत्रमार्फत समाजलाई सकारात्मक ढंगले परिवर्तन गर्ने काममा योगदान दिनुभएको छ ।

उहाँले २०३३ सालमा हास्य सम्राट मदन कृष्ण श्रेष्ठ, रामशेखर नकर्मी, श्रीकृष्ण अणुहरु सम्मिलित रहेको 'मुना सः’ नामक कलाकारहरुको संस्थामा आवद्ध भएर निर्दलीय पञ्चायती व्यवस्था विरुद्धको राजनीतिक चेतना जागृत गर्ने, प्रजातन्त्रको पक्षमा आवाज उठाएर मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्नसक्ने क्षमतावान कलाकारको रुपमा आफुलाई उभ्याउनु भएको छ ।

महेन्द्रकालीन पञ्चायती व्यवस्थाले एकताका 'एक भाषा एक भेष' नीति अवलम्बन गरी नेपालका आदिवासी जनजातिहरुले बोल्ने सबै खाले भाषाहरुलाई प्रतिबन्ध लगाएको थियो । सोही क्रममा रेडियो नेपालबाट प्रशारण हुँदै आएको नेपालभाषाको कार्यक्रम 'जीवन दबूु' र नेपालभाषाको समाचार पनि चेपुवामा परेको थियो ।

नेपालभाषाको कार्यक्रमलाई नेपालकै एउटै मात्र विद्युतीय राष्ट्रिय प्रशारणबाट हटाएको विरोधमा नागरिक अगुवा पद्मरत्न तुलाधरको नेतृत्वमा मल्ल के सुन्दर, गणेश साय्‌मि लगायतले भाषा बचाउ अभियान सञ्चालन गरेका थिए । वि.सं. २०२२ सालमा भएको भाषा आन्दोलनमा सक्रिय रहेका उहाँले थुप्रै डबली नाटक तथा प्रहसनहरु निर्देशन गर्नुभएको छ ।

उहिले देशभरका नेवारहरुको साझा संस्था नेपालभाषा मंका खलः गठन हुँदा गणेश साय्‌मि संस्थापक कोषाध्यक्ष समेत हुनु भएको थियो

Categorized in पेजथ्री