गंगा दशहरा आरम्भ
SamacharDesk – सन्दिप महर्जन | २०७९ जेठ १७, मंगलबार

आजबाट गंगा दशहरा सुरु भएको छ । दशहरा अथवा दशैं । दशैं भन्ने वित्तिक्कै आश्विन महिनामा आउने बडा दशैं नै हाम्रो मन मस्तिष्कमा आउँछ ।
धेरैलाई थाहा नहुन सक्छ वर्षमा ४ वटा दशैं हुने गर्दछ । ती ४ दशैंमध्ये गंगा दशहरा पहिलो हो भने हामीले धुमधामका साथ मनाउँदै आएको आश्विन महिनामा आउने बडादशैं दोस्रो हो ।
यसपछि पौष–माघको गुप्त नवरात्री र चैत्रको चैते दशैं मनाइन्छ । यसरी वर्षभरिको चार वटा ऋतुमा चारै प्रकारको दशैं मनाइन्छ । कुनै कुनै साधकले भने ६ वटा ऋतु ६ वटै नवरात्र पनि मान्ने गर्दछन् ।
आजबाट अर्थात ज्येष्ठ शुक्ल प्रतिपदाका दिनदेखि दशमीसम्मको १० दिनमा गंगा दशहरा मनाउने गरिन्छ । यस गंगा दशहरालाई असारे दशैंको नामले पनि चिनिन्छ ।
वैदीककालमा आजको तिथिमा नै भगीरथले भागिरथी गंगाको आगमण भएको विश्वास गरिन्छ । गंगा दशहराको अवधिभर एकाबिहानै नुवाई धुवाई गरेर शुद्ध भई शक्तिपीठ दर्शन गर्न जाने र घरमा पनि नवदुर्गा भवानी तथा शक्तिको पूजा आराधना गर्ने गरिन्छ ।
यस दशैंमा भने बडा दशैंमा जसरी जमरा राखिन्न तर, यसको महत्व भने उत्तिकै रहेको छ ।
मुख्यतः भारतको उतराखण्ड तथा बंगालमा भव्य रुपले मनाइने यस पर्वलाई नेपालमा पनि विभिन्न स्थानमा आ–आफ्नो कुल परम्परा तथा मत अनुसार मनाउने गरिन्छ ।
प्रायः गंगा दशहरामा गुप्त रुपमा साधना गर्ने गरिन्छ । यस अवधिभर तीर्थ स्थल वा नदी किनारमा गई स्नान गरेमा दश प्रकारका पाप नाश हुने शास्त्रीय मान्यता छ ।
साथै शक्तिको आराधना गरि दशौं दिन दशमीमा समापन पूजा गर्दै दान गरेमा आफू तथा परिवालाई कुनै पनि किसिमका समस्या र दशाहरुले नसताउने, सुखशान्ती हुने र वर्षातको समयमा रोगव्याधि नलाग्ने विश्वास गरिन्छ ।
Categorized in संस्कृति