arin enterprises

चाँगुनारायणलाई सुन–चाँदीको गहनाको साटो धागोको मालाः फोटो फिचरसहित

SamacharDesk – आभास राजोपाध्याय | २०८० आषाढ १७, आइतबार

ठुल्ठूला र प्राचीन मन्दिरमा देवता वा भगवानको सजावट कसरी गरिन्छ ? प्रायः सबैको उत्तर एउटै आउँछ होला, ‘रत्नजडित सुन, चाँदीलगायत बहुमूल्य गर–गहनाको माला, आभूषण र आयुधहरुबाट’ ।

तर काठमाडौंका चार नारायणमध्ये एक चाँगुनारायणलाई सजाउने तरीका भने छुट्टै छ । वर्षको एक दिन चाँगु नारायणलाई यस प्रकारका सुनचाँदीका सबै माला, आभूषणहरु फुकालिदिइन्छ र मात्र धागोको माला लगाइदिने गरिन्छ ।

प्रसङ्ग हो, हरिशयनी एकादशीको भोलिपल्ट चाँगुनारायणको पवित्रारोहण पर्वको । नेपाल भाषामा यसलाई पुका छायेगु भनिन्छ, अर्थात् धागोबाट बनेको पुका चढाउने ।

प्रत्येक वर्ष आषाढ शुक्ल द्वादशीका दिन यसरी पवित्र वा पुका तान्त्रिक विधिबाट चाँगुनारायण, लक्ष्मी, सरस्वती लगायत छिन्नमस्ता र कीलेश्वर महादेवलाई पनि चढाइन्छ ।

यसका लागि चाँगुनारायण पुजारीद्वारा करीब एक साताअघि तान्त्रिक विधिअनुसार धागोको प्रक्षालन संस्कार गरिन्छ । त्यसको भोलिपल्टदेखि मन्दिरभित्र र बाहिरका विभिन्न देवताहरूका लागि किसिम–किसिमका पुकाहरू बनाइन्छ ।

यस पर्वका अवसरमा देवताहरूको माला र गहना भनेको नै यीनै पुकाहरू हुन् । त्यसैले चाँगुनारायण भगवानका सबै गर–गहना झिकेर अलग्गै राखी पुका मात्र चढाइन्छ ।

यस वर्ष असार शुक्ल द्वादशी गत शुक्रबारका दिन परेको थियो । शुक्रबार बिहान सो पुकालाई होम विधिमार्फत् शुद्ध गरी मन्दिरभित्र विशेष पूजाका बीच देवतालाई अर्पण गरिएको छ ।

यस पूजाका क्रममा मन्दिर बन्द रहन्छ र पुजारी मात्र भित्र बसेर विशेष पूजा गर्नुपर्ने विधान छ । यस दौरान मन्दिरको पालोवाला भँडेलले भने मन्दिरबाहिर बसी रखवाली गर्ने गर्दछन् ।

यस वर्ष पालोवालाका तर्फबाट मन्दिरको पश्चिममा अवस्थित कुन्छे टोलका जगत् नारायण भँडेलले यो जिम्मेवारी निभाएका थिए । यससँगै आजै छिन्नमस्ता मन्दिरमा हाँस र बोका बलिसहित पूजा गरिएको थियो ।

छिन्नमस्ता पुजारी प्रचण्डमान कर्माचार्यले तान्त्रिक विधिअनुसार पूजा गरी देवीलाई पुका चढाएका छन् ।

साँझको नित्य आरतीपछि महादीप बालिएको थियो । चाँगुनारायण पुजारी चक्रधरानन्द राजोपाध्यायले उक्त महादीप प्रज्ज्वलन गरेका थिए ।

शुक्रबार चढाइएको पुका भोलिपल्ट शनिबार विसर्जन गरिएको थियो । विसर्जन पूजाका क्रममा भने मन्दिर परिसर नै पूर्णतः बन्द गर्नुपर्ने र चौघेरा सत्तलका सबै झ्यालहरू समेत बन्द गर्नुपर्ने चलन छ ।

यसैबीच सम्वन्धित निकायको बेवास्ताका कारण पर्वपूजाहरुको निरन्तरतामा समस्या भइरहेको पूजारीहरुले बताएका छन् । गुठी संस्थानले दिनुपर्ने सबै सामानमा निकै कटौती गरेको र गुठीले पर्वपूजामा केही वास्ता नगरेको गुनासो पुजारीहरूको छ ।

यसले विश्व सम्पदामा सूचीकृत मन्दिरको अमूर्त सम्पदा बचाउन कठिन भएको पुजारीहरू बताउँछन् ।

Categorized in संस्कृति