arin enterprises

“गथांमुग" : भूतप्रेत र पिशाच भगाउने चाड

SamacharDesk – राम डंगोल | २०८१ श्रावण १८, शुक्रबार

प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने “गथांमुगः" अर्थात् गठेमङ्गल, घण्टाकर्ण चाड आज नेवार समुदायले मनाउँदैछन् ।

नेपालमण्डलमा “सिनाज्या” अर्थात् धान रोपाईं पश्चात् चाडपर्वहरु शुरु हुने गर्दछ । धान रोपाई पश्चात सबैभन्दा पहिलो आउने पर्व तथा जेठो चाडको रुपमा गठेमङ्गललाई लिइन्छ ।

त्यस्तै वर्षको अन्तिम पर्वको रुपमा सिथिनखःलाई मनाउने गर्दछ । सिथिनखःलाई महिलाहरुको चाडको रुपमा मानिन्छ भने गठामंगललाई पुरुषहरुको चाडको रुपमा लिइन्छ ।

यो चाडलाई परापूर्वकादेखि नै मनाउँदै आइरहेको जनविश्वास रहेको छ । भूत, प्रेत,पिचास आदि नकारात्मक उर्जालाई ठेगान लगाउने चाडको रुपमा यसलाई लिइएको पाइन्छ । विशेषगरी काठमाडौका नेवार समुदायले मनाउँदै आएका यस पर्वमा गठेमङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाईन्छ ।

राक्षसलाई दोबाटो र चौबाटोमा उभ्याइने चलन छ । आ–आप्mनो परम्पराअनुसार कतै गठामङ्गललाई खोला वा नदी किनारमा लगेर बगाइदिने, जलाउने र सेलाउने चलन छ ।

किंवदन्ती अनुसार रोपाइँका बेला भूतहरूलाई प्रयोग गरेर खेतालामा लगाउने गर्दथे । अक्षय तृतीयामा डाकिने यस्ता भूतहरू रोपाइँ अवधिभर चलायमान हुन्थे भन्ने किस्सा छ ।

यसरी सोझै भूतहरू नै प्रकट भएर रोपाइँ गर्नेभन्दा पनि मानिसहरूमा भूत छिरेर असाधारण कार्य क्षमता उत्पन्न गराउने गर्दथे । अनि रोपाई सकेपछि यस्ता भूतहरूलाई सधैंभरी राख्न सही नहुने भएकाले श्रावण कृष्ण चर्तुदशीमा भूतको प्रकृतिका रूपमा गठेमङ्गल बनाई बिदाइ गर्ने चलन छ ।

त्यस्तै काठमाडौं उपत्यकाका नेवार समुदायले यस पर्वलाई घर आँगन सफा सुघर गर्ने पर्वका रुपले लिने गरेका छन् ।

यो पर्व रोपाईँ सम्पन्न हुने समयमा पर्न आउँछ । रोपाईँको समयमा किसानहरु दिनरात खेतीपातीमा जुटेका हुन्छन् र सफाईमा ध्यान दिन पाउँदैनन् । यस्तो अवस्थामा खेतमा भएका किटाणुहरु घर पुग्ने मात्र होइन, संक्रमण हुनसक्ने सम्भावना पनि रहन्छ ।

यस्तो अवस्थामा घरमा भएका सम्पूर्ण अपवित्र तत्वहरु जस्तै भूत, प्रेत, पिशाच आदिको साथमा उपियाँ, उडुस आदिसहित रोगव्याधिको प्रतीकको रुपमा गथांमुगः फाल्ने गरिन्छ ।

यस दिनमा मानिसहरूले गठेमङ्गलको औँठीका रूपमा धातुको औँठी लगाउने चलन छ । सम्पूर्ण रूपमा नराम्रा तत्व र दुर्भाग्यबाट समेत गठेमङ्गलको औँठीले सुरक्षा दिने जनविश्वास छ ।

भूतलाई भगाउन मूल ढोकामा तीन वटा किल्ला ठोक्ने चलन गठेमङ्गलको एउटा सम्झन लायक अर्को चलन हो । पुराना ढोकाहरूमा त वर्षौँदेखिका गठेमङ्गलको किल्लाहरूले निकै दुलो पारिसकेका हुन्छन् ।

बच्चाहरूले भने बाँस र पात–पतिङ्गरले घण्टाकर्णको पुतला बनाएर बटुवाहरूसँग दान (जगाती) लिने गर्दछ ।

Categorized in संस्कृति