arin enterprises

टाइफाइड विरुद्धको खोप लगाईंदै

SamacharDesk | २०७८ चैत्र २४, बिहिबार

प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्ध बालबालिकालाई दिइन लागिएको खोपको उद्घाटन गरेका छन्।

रानीपोखरीस्थित दरबार हाइस्कुलमा आज बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म देशैभर टाइफाइड खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रममा नियमित खोपमार्फत टाइफाइड खोपको शुभारम्भ गर्नुभएको हो ।

यो अभियानको क्रममा १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइनेछ।

नेपालमा पहिलोपटक यो खोप दिइन लागिएको हो। झण्डै ७५ लाख बालबालिकालाई यो खोप दिने सरकारको लक्ष्य रहेको छ।

नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन सरकारले सबैमा अनुरोध गरेको छ। नेपालले पछिल्लो १० वर्षदेखि खोप लगाउने विषयमा गृहकार्य गर्दै आएको थियो।

सो अवसरमा प्रधानमन्त्री देउवाले कोभिड सङ्क्रमण नियन्त्रणमा सफलता पाएजस्तै टाइफाइडमा पनि सफलता पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस अभियानबाट देशका १५ महिनादेखि १५ वर्ष उमेर समूहका करिब ७५ लाख बालबालिका लाभान्वित हुने उल्लेख गर्नुभयो ।

उहाँले राजधानीलगायत सहरी क्षेत्रमा फोहरको समस्याको दिगो समाधानका लागि फोहरको प्रशोधन प्लान्ट स्थापना गरी त्यसबाट ग्यास तथा विद्युतीय ऊर्जा उत्पादन गर्न सकिने हुँदा यसतर्फ लाग्न स्थानीय निकायहरूलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोभिड रोग नियन्त्रणमा नेपालले विश्वमै उदाहरणीय सफलता हासिल गर्न सकेको उल्लेख गर्दै दक्षिण एशियामा नेपालले पहिलोपटक टाइफाइड रोगविरुद्धको खोप अभियान सुरु गर्न लागेको जानकारी दिनुभयो ।

Categorized in राष्ट्रिय