arin enterprises

अन्ततः पाँच सय वर्षपछि भगवान राम नवनिर्मित मन्दिरमा प्रतिष्ठापन

SamacharDesk – राम डंगोल | २०८० माघ ९, मंगलबार

करिब पाँच सय वर्षपछि अन्ततः सोमबार भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा भगवान रामको प्राण प्रतिष्ठा गरिएको छ ।

भव्य समारोहकाबीच भगवान् श्रीराम आफ्नो भव्य र दिव्य मन्दिरमा बास गरेका छन् । यसका लागि अयोध्या सहरलाई हजारौँ क्विन्टल फूलले दुलही झैँ सिँगारिएको थियो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको उपस्थितिमा अभिषेकको अनुष्ठान गरिएको हो । यो कार्यक्रम सोमबार मध्याह्न १२ः०५ बाट सुरु भई १२ः५५ बजेसम्म चलेको थियो ।

अयोध्याको रामकोटमा सन् १५२८ मा मुगल सम्राट् बाबरले बाबरी मस्जिद बनाउनु अघि रहेको रामन्दिरकै जगमा अहिले मन्दिर बनाइएको हो ।

यतिबेला भगवान श्रीरामको मूर्तिको प्राण प्रतिष्ठा बिश्वभर हिन्दुहरुका लागि गर्वको विषय बनेको छ भने कयौं राष्ट्रहरुले उत्तिकै चासोका साथ हेरिरहेका छन् । भारतको सर्वोच्च अदालतले रामजन्मभूमिमा राम मन्दिर निर्माणका लागि बाटो खोलिदिएपछि सन् २०२० देखि मन्दिर निर्माण कार्य शुरु गरिएको थियो ।

यस राम मन्दिरका लागि १ हजार ८ सय करोड भारतीय रुपैयाँको बजेट बिनियोजन गरिएको थियो । मन्दिर निर्माणका लागि ४ करोड भारतीय नागरिकहरुले स्वेच्छाले चन्दा सहयोग गरेका थिए ।

आधुनिक प्रक्रिया भन्दा पर परम्परागत शैलीबाट विना फलामको प्रयोग गरी मन्दिर बनाइएको छ । यस मन्दिरमा ४४ वटा द्वार र ३ सय ९२ पिलर रहेका छन् । तीन तलाको राममन्दिर पूर्वपश्चिम दिशामा ३ सय ८० फिट लम्बाइको र २ सय ३५ फिट चौडाइको रहेको छ ।

हरेक तला २० फिट उचाइका छन् । जमिनबाट गर्भगृहको चुचुरोको उचाइ १ सय ६१ फिटको छ । मन्दिर ग्रेनाइट पत्थरबाट मात्रै बनाईएको छ । प्राचीन नागर शैलीमा बनाइएको मुख्य मन्दिर ५७ हजार ४ सय वर्गफिट क्षेत्रमा बनेको छ ।

पिलर र ढोकाहरूमा विभिन्न भगवानका मूर्तिहरू कोरिएका छन् । मन्दिरको गर्भगृहमा भगवान् रामको मूर्ति छ । भगवान रामको बालस्वरुप मूर्ति ५१ इञ्च अग्लो छ भने मूर्तिको दायाँ बायाँ र तल माथि सूर्य चन्द्रमादेखि विभिन्न देवगण तथा ऋषिहरुका आकृति पनि कुँदिएको छ ।

भारतीय मोदीको दोस्रो कार्यकालमा भगवान रामको मन्दिर निर्माण सम्पन्न हुनुलाई निकै महत्वपूर्ण मानिएको छ । यद्यपि प्रधानमन्त्री मोदीलाई हिन्दू(राष्ट्रवादी सरकारले मुस्लिम र अन्य धार्मिक अल्पसंख्यकहरूमाथि दमन बढाइरहेको आरोप लाग्दै आएको छ ।

मोदीको यस सक्रियतालाई धेरैले लगातार तेस्रो कार्यकाल प्रधानमन्त्री बन्ने उनको अभियानको अनौपचारिक सुरुवात भएको बताएका छन् । प्राण प्रतिष्ठा कार्यक्रममा कांग्रेस पार्टीका नेताहरू भने अनुपस्थित रहे ।

कांग्रेसी नेताहरूले यसलाई स्पष्ट रूपमा चुनावी लाभको निम्ति अगाडि बढाइएको राजनीतिक परियोजना भनेर वर्णन गरेका छन् । त्यसैगरी, मन्दिर निर्माण नसकिइँदै नै चुनावी फाइदा हेरेर शिलान्यासमा लागेको भन्दै कतिपय पण्डितहरुले पनि मोदीको आलोचना गरिरहेका छन् ।

मन्दिर निर्माणको सम्पूर्ण काम नसकिँदै भारतको लोकसभा चुनावअघिको ठूलो काम भनी देखाउन मोदी तथा आदित्यनाथको टीमले अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा गराएको भनेर केही सन्त-महन्तले आलोचना गरेका हुन् ।

शास्त्रको उल्लंघन गर्दै आयोजना गरिएको कार्यक्रममा आफूहरु सरिक नहुने उनीहरुले बताएका थिए । हिन्दू शास्त्रले शंकराचार्यलाई हिन्दू धर्मगुरुहरुको सर्वोच्च पदमा राख्छ । धर्मप्रचारका लागि बदि शंकराचार्यले चार वटा मठ स्थापना गरेका थिए ।

ती चार वटै मठका शंकराचार्यहरुको तर्फबाट प्राण प्रतिष्ठामा सहभागी नहुने विज्ञप्ति जनवरी ८ मै निकालिएको थियो ।प्राण प्रतिष्ठाका लागि देश बिदेशका सयौं सन्त महन्थ लगाएत भारतका उच्च पदस्थ ब्यक्तित्वहरु, कलाकारहरु, उद्योगपति तथा ब्यापारीहरुलगायत हजारौ पाहुनाहरु अयोध्या पुगेका थिए ।

यस समाारोहका लागि झन्डै पाँच सय वर्षपछी दुलहीझैं सिंगारिएको रामनगरी अयोध्या मात्र नभई भारतभर घरघरमा दिपोत्सव समेत गरिएको छ ।

भारतमा मात्र नभई नेपालमामा पनि हर्षाेत्सव मनाइएको छ । भगवान् राम मन्दिरको प्राणप्रतिष्ठाको अवसरमा सोमबार जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलित गरिएको छ ।

राम मन्दिरको प्राणप्रतिष्ठाका लागि जानकी मन्दिरको तर्फबाट चाँदीका धनुषवाणलगायत सुनचाँदीका विभिन्न गहना, लत्ताकपडा, फलफूललगायत तीन हजार बढी कोसेली अध्योया पठाइएको थियो ।

भगवान रामको ५ सय वर्ष लामो समयको अन्तरालपछि स्थापना हुँदा जे जस्तो हिन्दू मुस्लिमबीच आरोप प्रत्यारोप भए पनि विश्वभरका हिन्दूहरुका आस्थाका केन्द्र मर्यादा पुरुषोत्तम श्रीरामको जन्मभूमिमै भब्य मन्दिर बन्नु र उक्त मन्दिरमा भगवान रामको मूर्तिको प्राण प्रतिष्ठा हुनु आफैंमा ऐतिहासिक दिन भएको छ ।

Categorized in संस्कृति