सुन जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्री दाहाललाई बुझाइयो
SamacharDesk | २०८० चैत्र २, शुक्रबार

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानले सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई पुष्पकमल दाहाललाई बुझाएको छ ।
प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले सुन तस्करी प्रकरणमा मुछिएका जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री दाहालले कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदनले औँल्याएका सिफारिस कार्यान्वयनको सुनिश्चितता गर्न निर्देशन दिनुभयो ।
सरकारको मुख्य अभिभारा सुशासन भएकाले कानुनी रुपमा दोषी देखिए कानुनी दायरामा ल्याउने र निर्दोष नफस्ने वातावरण बनाउनसमेत निर्देशन दिनुभएको उपप्रधानमन्त्री लामिछानेको सचिवालयले जनाएको छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर गृहमन्त्री लामिछानेले आयोगको प्रतिवेदन बुझाउनुभएको थियो । यसअघि जाँचबुझ आयोगले हिजो गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।
यसैबीच सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित आयोगले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुन तस्करीको छानबिनमा गम्भीर त्रुटि गरेको निष्कर्ष निकालेको छ ।
मुद्दा चलाउनुपर्नेलाई समेत जोगाएको आरोपमा आयोगले ब्यूरोकी प्रमुख एआईजी किरण बज्राचार्यलाई समेत कारबाहीको सिफारिस गरेको हो ।
योसँगै सुनसम्बन्धी अनुसन्धान गरेका एसपी सञ्जयसिंह थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई पनि विभागीय कारबाहीको सिफारिस भएको छ ।
उनीहरुले सुन तस्करीमा जोडिएका एक मुख्य व्यक्ति जीवन चलाउनेलाई भगाएको आरोप छ । ब्यूरोमा उपस्थित गराएर समेत छाडेको उनीहरुको माथि आरोप छ ।
Categorized in राष्ट्रिय