अत्यावश्यकबाहेक सार्वजनिक यातायातमा यात्रा नगर्न सरकारको आग्रह
SamacharDesk – विकाश | २०७७ आषाढ ३०, मंगलबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक अवस्था बाहेक सार्वजनिक यातायातमा यात्रा नगर्न आग्रह गरेको छ ।
मन्त्रालयको नियमित प्रेस व्रिफिङमा आज बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले अब सार्वजनिक यातायातको यात्रा कोभिड भन्दा पहिलाको अवस्था जस्तै सामान्य रुपमा नबुझिदिन अनुरोध गरे ।
‘यात्रा गर्नैपर्ने अवस्थामा हरेक यात्रु वा व्यक्तिले संक्रमण गराउन सक्छन् भन्ने हेक्का राख्न र एक अर्काबीचमा कम्तीमा तोकिएको भौतिक दुरी कायम गर्न, मास्कको अनिवार्य प्रयोग गर्न, हातको सरसफाईमा ध्यान दिनुहुन अनुरोध छ’ मन्त्रालयका प्रवक्ता डा. गौतमले भने ।
कोभिड संक्रमण भएकाले, संक्रमणको शंका लागेकाले अथवा कोभिडसँग मिल्दोजुल्दो लक्षण भएको अवस्थामा सार्वजनिक यातायातको प्रयोग नगरिदिनु हुन पनि गौतमले आम नागरिकमा अनुरोध गरेका छन् ।
दैनिक जनजीवनलाई कठिनाईका वावजुद सावधानी अपनाएर अगाडी बढाउनुपर्ने अवस्था श्रृजना हुँदै गएको भन्दै डा. गौतमले कोभिडको समस्या समाधान भइसकेर सार्वजनिक यातायात सुचारु गरेको भनी नबुझिदिन पनि आग्रह गरेका छन् ।
सर्वसाधारणको जनजीवनमा सहजता होस् भनेर प्रतिकुल अवस्थाका वावजुद सरकारले यातायात चलाउन दिने निर्णय गरेको गौतमले प्रष्ट्याए ।
Categorized in राष्ट्रिय