arin enterprises

‘जनसंख्याको नियन्त्रणभन्दा व्यवस्थापन सरकारको प्राथमिकतामा’

SamacharDesk – विकाश | २०७७ आषाढ २७, शनिबार

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सन् १९९४ मा जनसंख्या र विकास सम्वन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा व्यक्त गरेको प्रतिवद्धता स्वरुप आज नेपालमा जनसंख्याको क्षेत्रमा निकै राम्रा काम भएको दावी गरेका छन् ।

विश्व वातावरण दिवसका सन्दर्भमा सामाजिक सञ्जालमार्फत सम्वोधन गर्दै स्वास्थ्य मन्त्री ढकालले वर्तमान अवस्थामा जनसंख्या वृद्धिमा सन्तुलन, प्रजनन स्वास्थ्यमा सुधार, प्रजनन अधिकारमा पृष्ठपोषण, वालविवाहमा कमी, सुरक्षित मातृत्व, लगायतका क्षेत्रमा नेपालले ठुलो प्रगति हासिल गरेको  बताउनुभयो ।

तथापि यो क्षेत्रम अझै धेरै कार्यहरु गर्न बाँकि रहेको मन्त्री ढकालको भनाई थियो 

‘जनसंख्या र विकाससँग जोडिएको महत्वपूर्ण बहुआयामिक क्षेत्रहरुको नीति निर्माण र कार्यक्रम सन्चालन गर्ने सरकारको प्राथमिकता रहेसँगै यो दिवस मनाउने उत्साह पनि कायम छ’ दिवसको शुभकामना दिँदै मन्त्री ढकालले भन्नुभयो ।

जनसंख्या विकासको मूल आधार मात्र नभई देशको अस्तित्व स्थापना गर्ने एक मूल मापक पनि भएको बताउँदै ढकालले सन्तुलित जनसंख्याको वितरण र प्रभावकारी जनसंख्या व्यवस्थापनको मार्गमा जनसंख्याका खास खास सुचकहरुमा सुधार गर्नुपर्ने अवस्था औंल्याउनुभयो ।

सरकारले तय गरेको १५औं पञ्चवर्षीय योजनामा प्रतिवद्धता जनाइ लागू गरेको दीगो विकास लक्ष्य लगायतका हरेक कार्यक्रममा जनसंख्या व्यवस्थापन प्राथमिकतामा परेको ढकालले बताउनुभयो ।

‘विक्रम सम्वत २०६८ को जनगणनाको नतिजाले नेपालको वार्षिक जनसंख्या वृद्धिदर २ प्रतिशतभन्दा तल झरेको देखिएपछि जनसंख्याको नियन्त्रणभन्दा पनि जनसंख्याको व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको छ’ मन्त्री ढकालको भनाई हो ।

सेवा सुविधाकै अभावका कारण नागरिकले जन्मथलो छाडेर अन्यत्र बसाईँ सराइ गर्नुपर्ने वाध्यताको अन्त्य गर्न आवश्यक पूर्वाधारहरुको निर्माण गरी व्यवस्थित वसोवासको व्यवस्था मिलाइ अव्यवस्थित शहरीकरण रोक्नेतर्फ सरकारले ध्यान दिइरहेको ढकालले जानकारी गराउनुभयो ।

कोभिड १९ बाट आज विश्वमा एक करोडभन्दा बढि मानिसहरु संक्रमित रहेको अवस्थामा महिला, बालबालिका, ज्येष्ठ नागरिक लगायतको अधिकारलाई सम्मान गर्दै सुरक्षित राख्ने सन्दर्भमा सरकार सजग रहेको उहाँको दावी थियो ।

नेपालको जनसंख्याको आधा हिस्साभन्दा बढि संख्यामा रहेका महिलाहरुको स्वास्थ्य, शिक्षा, लैङ्गिक समानता र रोजगारीजस्ता विषयहरुमा राज्यले विशेष रुपमा ध्यान दिन सके मूलुकको विकासमा यसले ठुलो योगदान पुर्याउने विचार उहाँले राख्नुभयो ।

Categorized in राष्ट्रिय