arin enterprises

ताम्रकार समाजमा सामुहिक बाःर्‍हाः सम्पन्न

SamacharDesk – बिराज | २०७९ फाल्गुण २९, सोमबार

आफ्नी नौ बर्षीया छोरीलाई आफुबाट चार दिन अलग्ग राख्नुपर्दा भक्तपुरकी निजिना कायष्ठ ताम्रकारलाई कम्ती छट्पटी भएको थिएन । पेशाले चिकित्सक उनी नेपालमा बालिकाहरुलाई गरिने अनिवार्य बिधि व्यवहार बाःर्‍हाः राख्नका लागि ताम्रकार समाजको जिम्मामा छोरीलाई छोडेर गएकी थिइन् ।

उता छोरी इप्सा कायष्ठ भने यस अवधिभर औधी खुसी थिई । उनलाई आमा साथमा नभएको फिटिक्कै अनुभूति थिएन, किनभने उनकै उमेरका थप २३ जना सखीहरुसँगै बस्ने, खेल्ने, खानुका साथै विभिन्न नयाँनौलो कुराहरु सिक्न पाइरहेकी थिइन् ।

नेवार समाजमा छोरीको लागि अनिवार्य संस्कारको रुपमा बाःर्‍हा राख्ने चलनलाई लिइन्छ । आफू कामको सिलसिलामा बाहिर रहनुपर्ने, छोरीलाई बाःर्‍हाः पनि राख्नुपर्ने । समय कसरी व्यवस्थापन गर्ने भन्ने निजिनालाई ठुलै समस्या थियो । घरमै यो संस्कार सम्पन्न गर्न सम्भबै नभएको डा. निजिना बताउँछिन् ।

ताम्रंकार समाजमा सामूहिक बाःर्‍हाः कार्यक्रम राख्दा निजिता जस्तै व्यस्त आमाहरुको लागि भने निकै सजिलो भएको थियो । यस्ता विधि व्यवहारलाई सामुहिक रुपमा गरिदिएकोमा ताम्रकार समाज प्रति निजिना जस्तै धेरै आमाहरु कृतज्ञ छिन् ।

ताम्रकार समाजको व्यवहार व्यवस्था उपसमितिबाट पाँचौं पटक आयोजना गरिएको सामुहिक बाःर्‍हाःमा कुल २४ जवान कन्याहरुको सहभागिता रहेको थियो ।

सामुहिक बाःर्‍हाःको अवलोकन गर्न आएकी ललितपुर महानगरपालिकाकी उपप्रमुख मंजली शाक्य बज्राचार्यले समाजको यस कार्यको प्रशंसा गर्दै अन्य समाजहरुले पनि यस्तो कामको अनुसरण गर्नुपर्ने धारणा राखीन् ।

समाजका निवर्तमान अध्यक्ष रविन्द्र राज ताम्रकारको भनाईलाई मान्ने हो भने समाजबाट गरिँदै आएको विभिन्न कार्यक्रमहरु मध्ये आत्मसन्तुष्टी दिने खालको काम यहि हो । नेपाली परम्परा अनुसार बालिकाहरुको शारिरीक स्थितिको विकासको अवस्थामा अपरिहार्य बिधिलाई ताम्रकार समाजले सामुहिकरुपमा गर्दै आइरहेको उहाँले बताए ।

समाजका अध्यक्ष बिनोद ताम्रकारले समाजले सदैव नेपाली परम्परा, संस्कृति, संस्कार, बिधि व्यवहार, सम्पदाहरुको संरक्षण, सम्वर्ध्दनका लागि काम गर्दै आइरहेको बताए । उहाँले परम्परागत बाःर्‍हाः लगायतका विभिन्न संस्कारहरु व्यक्तिगतरुपमा गर्दा सा¥है खर्चिलो हुनुका साथै विभिन्न कठिनाईहरु आउने भएर पनि सामुहिकरुपमा यस कार्यलाई गर्दै आइरहेको बताए ।

उपसमितिका संयोजक मनोज ताम्रकारले नेवार परम्परा अनुसार २४ कन्याहरुलाई एउटै कोठामा राखेर बाःर्‍हाःको आवश्यकता, महत्वका बारेमा तथा शारिरीक विकासका विविध पक्षहरुका बारेमा ज्ञान दिने गरिएको जानकारी गराए ।

सो अवधिभर सहभागी कन्याहरुलाई विभिन्न श्रोत व्यक्तिहरुको माध्यमबाट व्यक्तित्व विकास, उत्प्रेरणा, सकारात्मक सोच, शारिरीक विकास, यौन दुव्र्यवहार, साइवर अपराध, स्वास्थ्य, कला, संस्कृति, सम्पदा, योगा लगायतका क्रियाकलापहरु गराउँदै आइरहेको थियो । यसका साथै सहभागीहरुलाई प्रत्येक दिन चित्रकला तथा नृत्यकलाको प्रशिक्षण पनि दिइएको थियो ।

साथमा ताम्रकार समाजबाट हालै आयोजना गरिएको सामुहिक ब्रतबन्धमा पनि २० जवान वटुकहरुको सहभागीता रहेको थियो ।

Categorized in संस्कृति