arin enterprises

नेवार वौद्ध धर्मावलम्बिहरुको गुंला धर्म प्रारम्भ

SamacharDesk – विकाश | २०७७ श्रावण ६, मंगलबार

नेवार समुदायका वौद्ध धर्मावलम्विहरुले एक महिनासम्म गुंला धर्म आजबाट प्रारम्भ भएको छ ।

नेपाल सम्वत अनुसार १०औं महिना गुँलाभरि नेवार वौद्ध धर्मावलम्बिहरु गुंला धर्म मनाउने गर्दछन् । गुंला धर्म श्रावण शुक्ल प्रतिपदाबाट शुरु भई श्रावण कृष्ण भदौ कृष्ण औंशीसम्म मनाउने गरिन्छ ।

यो महिनाभर नेवार समुदाय एका विहानै बाजागाजा बजाउँदै वौद्ध धार्मिक केन्द्रहरुमा जाने गर्दछन् । धाः, दम्वःखिं, न्येकू लगायतका बाजा बजाउँदै विभिन्न वौद्ध धार्मिक केन्द्रमा जाने गरिन्छ ।

यो महिना विशेष गरी काठमाडौंमा स्वयम्भुमा मेला नै लाग्ने गर्दछ ।

विभिन्न स्थानमा वौद्ध भजन पनि गाउने गरिन्छ भने धर्मदेशना आदि जस्ता धार्मिक क्रियाकलापहरु पनि गर्ने गरिन्छ ।

यहि महिनामा नागपञ्चमी, गाईजात्रा, जनैपुर्णिमा, कृष्णाष्टमी, कुशे औंशी लगायतका पर्वहरु पनि पर्न आउने गर्दछ ।

भदौ शुक्ल प्रतिपदाका दिन पारु भ्वय् भनी विभिन्न गुठीहरुको भोज मनाईँदै गुँला धर्म सम्पन्न हुने गर्दछ ।

वुद्धिस्ट समुदायले मान्ने भनिएतापनि नेवार समुदायमा वौद्ध र हिन्दु सँस्कृति मिश्रित रुपमा चल्दै आएको हुनाले सनातनि हिन्दु नेवारहरुले पनि आफ्नै ढङ्गले गुंला धर्म मनाउने गरेका छन् ।

विगतका वर्षमा बाजागाजासहित रौनक देखिने वौद्ध धार्मिक केन्द्रहरु यस वर्ष भने कोरोना महामारीका कारण शुन्य छन् ।

 

गुंला धर्मको विभिन्न अर्थ

नेपाल भाषामा ला भन्नाले महिना बुझिन्छ । गुंलाको अर्थको सवालमा भने समाजमा विभिन्न मतहरु सुन्नमा पाइन्छ । 

यो महिनामा विशेष गरी धार्मिक क्रियाकलापहरु बढि हुने गर्दछ । धार्मिक गुणले भरिएको महिना भएकोले नै यसलाई गुंला भनिएको कथन रहेको छ ।

गुणला अथवा गुणिला भन्दै जाँदा बीचको ण लोप भइ गुंला बनेको सँस्कृतिविद्हरुको भनाई रहेको छ ।

साथै यो महिना नेपाल सम्वत अनुसार दशौं महिना परेतापनि कार्तिक शुक्ल प्रतिपदाबाट गणना गर्दा यो महिना नवौं पर्न आउँछ ।

त्यो हिसाबले यसलाई गुंगूगु ला/गुंगू ला अर्थात नवौं महिना भनिएको भन्ने पनि कथन छ ।

यसको साथमा यो महिनाभरि विहानै बाजागाजा बजाई विभिन्न वौद्ध आस्थाका केन्द्रहरु जाने गरिन्छ । यस्ता केन्द्रहरु प्राय जसो पहाड वा डाँडामाथि बनेका हुन्छन् ।

नेपालभाषामा पहाडलाई गुँ भन्ने गरिन्छ । पहाड चढ्ने महिना भएकोले यसलाई गुँला भनिएको भन्ने कथन पनि रहेको छ ।

 

गुंला धर्म सम्वन्धि किम्वदन्ति

परापूर्व कालमा काठमाडौं उपत्यका पानीले भरिएको एउटा दहको रुपमा थियो ।

सो दहमा विपश्वी वुद्ध आई कमलको फुल रोपेर गए । कमलको फुल फुलेपछि त्यसमाथि धर्मधातु ज्योतिको रुपमा स्वयम्भूनाथ प्रादुर्भाव भए ।

उक्त स्वयम्भुको दर्शन गर्न महामन्जुश्री तत्कालीन नेपाल खाल्डोमा आए ।

महामन्जुश्रीले आफ्ना पत्नी वरदा र मोक्षदालाई चोभारको दायाँ र बायाँ पहाडमा बसाए । खड्गले चोभार डाँडामा प्रहार गरी यहाँको पानी बाहिर पठाए ।

यहाँको पानी सबै बाहिर गइसकेपछि मन्जुपत्तन नामक शहर बसाले ।

यहाँ मन्जुपत्तन शहरको स्थापना भइसकेपछि यहाँका वासिन्दाले स्वयम्भूनाथको नियमित सेवा गर्न थाले । 

कालान्तरमा स्वयम्भूनाथ विराजमान भएको डाँडामा वौद्ध महायानी गुरु शान्तिकराचार्य स्वयम्भु महाचैत्य निर्माण गरे र विगतमा गरिँदै आएको चैत्य सेवालाई ‘गुँला धर्म’ नाम दिए ।

Categorized in संस्कृति