arin enterprises

गुरुप्रति सद्भाव प्रकट गर्दै गुरु पूर्णिमा मनाईंदै

SamacharDesk – Ram Dangol | २०७९ आषाढ २९, बुधबार

अषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा, आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्दा भाव प्रकट गरी मनाउने गरिन्छ ।

यस दिन गुरुका रुपमा ज्ञानको पूजा गर्ने गरिन्छ । गुरुप्रति श्रद्दा र सम्मान प्रकट गर्दै यस दिन देशभरि गुरुपूर्णिमा मनाउने गरिन्छ ।

सनातन धर्मावलम्बि र बौद्धधर्मावलम्बिहरुले आजको दिनलाई आफ्नो धर्म तथा पारम्परीक सांस्कृतिक ज्ञानको बाटो देखाउने गुरुप्रति आभार ब्यक्त गर्ने विशेष दिनका रुपमा लिने गर्छन् ।

पूर्वीय दर्शन अर्थात् सनातन हिन्दू धर्ममा गुरूको महत्व अनौठो र अनुपम रहेको हुन्छ । ’गु’को अर्थ अन्धकार र ’रु’को अर्थ प्रकाश हुन्छ ।

यसरी अन्धकाररुपी अज्ञानलाई प्रकाशतर्फ डोर्याउन सफल हुनेलाई गुरु भनिएको हे । अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्नेलाई गुरू भनिन्छ ।

यसप्रकार गुरू नै यथार्थ ब्रह्म हो र उनकै योगदानलाई चर्चा गर्दै आजका दिन सम्मान गरिन्छ ।

आज गुरूपूर्णिमालाई वेद व्यास जयन्तीको रूपमा पनि मनाइन्छ । वेद व्यासले वेद¬वेदान्त, अठार पुराण, उपनिषद्हरू लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएका हुन् ।

शिक्षा दिने, संगीत सिकाउने लगायत विभिन्न ज्ञान दिनेलाई गुरु भनिन्छ । यस दिन गुरुलाई सम्मान गरि उपहार समेत दिने गरिन्छ ।

कतैकतै त गुरुदक्षिणा पनि दिने चलन छ । पहिले पहिले गुरु भन्ने वित्तिकै गायत्री मन्त्र सिकाउने गुरु, दीक्षा दिने गुरु र धनुँबाण सिकाउने गुरु आदीलाई मानिन्थ्यो तर गुरुको परिभाषा अहिले विशाल भएको छ ।

व्यक्तिगत गुण राम्रो स्वास्थ्य, आकर्षक व्यक्तित्व, मधुर स्वर, रुचि र उत्साह, धैर्य र सहनशीलता, प्रेम र सहानुभूति, आत्मविश्वास, नैतिकता र चरित्रवान बन्न गुरुले नै सिकाउने विश्वास गरिन्छ ।

हाम्रो शास्त्रमा देव गुरू बृहष्पति र असुर गुरू शुत्राःचायृ गरी दुई ठूला गुरूको चर्चा गरिएको पाइन्छ ।

"गुरु ब्रह्मा, गुरु विष्णु गुरु देवो महेश्वर,

गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नमस्"

अर्थात् 

"गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन अनि गुरु भनेकै भगवान शंकर हुन्,

गुरु नै हुन् साक्षात परब्रह्म, यस्ता गुरुलाई म नमस्कार गर्दछु ।"

यस श्लोकबाट पनि पुष्टि हुन्छ कि गुरु कति महान हुनुहुन्छ । यस संसारमा जन्म दिने आमाबुबा हुनुहुन्छ भने कर्म दिने गुरु हुनुहुन्छ ।

त्यसैले गुरु नै ब्रह्मा हुन, गुरु नै विष्णु हुन अनि गुरु भनेकै भगवान शंकर हुन् त्यसैले गुरुलाई आदर, सम्मान गर्नु भनेकै तिनै भगवानहरुलाई सम्मान र श्रद्धा गर्नु हो ।

तसर्थ हामीलाई जिन्दगीले कति धेरै कुराहरु सिकाएको छ । जस्तै हामी सहि र गलतमा फरक छुट्याउन सक्छौं, वास्तविक र कृतिम कुरा र भावनाको चाल पाउन सक्छौं ।

तपार्इ हामीले कुनै बखत सहि कुरा र पथ छान्यौ या छानेनौ भनेपनि हामीले आफ्ना पाइलाहरु कतातिर जाँदैछ भनेर अरुकसैलाई सोध्नै पर्दैन, हृदयको स्पन्दनले आफै हामीले चालेका पाइला र तिनका सारतत्वको बयान दिन्छ ।

गलत पाइला चाल्दा मनभित्रबाटै एउटा गुरुतत्वले आवाज निकाल्छ, नाँई ! त्यसो नगर त्यो गलत हो भनेर तर त्यो आवाज हामी कतिले सुनेर पाइला रोक्छौं त कतिले सुनेर पनि नसुनेको जस्तै गर्छौं ।

यस अर्थमा हामी सबैको भित्रपनि एउटा गुरुतत्व रहेको छ र सत्यलाई आत्मसाथ गर्नसके गुरुतत्व सदैव उपस्थित रहिरहन्छ ।

जिन्दगीले हरेक मोडमा हामीलाई केहि न केहि सिकाएरै जान्छ तसर्थ हरेक पाठलाई आत्मसाथ गर्नसके गुरुपूर्णिमाको र गुरुतत्वको सहि उपयोग हुनेछ ।

Categorized in राष्ट्रिय