arin enterprises

गुरु पुर्णिमा मनाईँदै

SamacharDesk – बिराज | २०७८ श्रावण ९, शनिबार

आज आषाढ शुक्ल पुर्णिमाको दिन, जीवनको बाटोमा ज्ञानको उज्यालो दिइ अगाडी बढ्न मद्दत गर्ने गुरुहरुप्रति सम्मान प्रकट गर्दै पुर्णिमा पर्व मनाईँदैछ ।

सनातनी र वौद्ध धर्मावलम्बीहरु आजको दिनमा विशेष महत्वका साथ मनाउने गर्दछन् ।

‘गु’ अर्थात अन्धकार र ‘रु’को अर्थ प्रकाश । अज्ञान नामक जीवनको अँध्यारोमा ज्ञानरुपी प्रकाश दिएर व्यक्तिलाई जीवनमा अघि बढ्न बाटो देखाउने व्यक्तिलाई गुरु भनिन्छ ।

गुरुको मार्गदर्शन विना जीवनको यात्रा बढाउन निकै गार्हो हुन्छ । जन ज्ञानरुपी प्रकाशले जीवन उज्यालो बन्छ, तब मात्र सहि र गलत, ठिक र बेठिक आदि छुट्याउन सकिन्छ र हरेक पाइलालाई सफल बनाउन मद्दत पुग्दछ ।

यसको लागि गुरुको मार्गदर्शन र निर्देशन सबैभन्दा महत्वपूर्ण रहन्छ । जीवनको हरेक योजना वा कामको सफलतामा गुरुको योगदान रहेकै हुन्छ ।

जीवनको हरेक पाइलासँग जोडिने गुरु हरदिन, हरपल पुज्य रहन्छन् । अरुबेलामा कार्य व्यस्तता वा अन्य विभिन्न कारणले पोख्न नसकिएको आदरभाव र कृतज्ञता आजको दिनमा पोख्ने गरिन्छ ।

आजको दिन गुरुहरुलाई पूजासमेत गर्दै विभिन्न उपहारहरु पनि दिने गरिन्छ ।

प्रश्रव पीडा सहेर आफुलाई संसारमा ल्याउने आमालाई जीवनको पहिलो गुरु मानिन्छ । त्यसैले आज आमालाई पनि विभिन्न उपहार दिएर आदर र सम्मान प्रकट गर्ने गरिन्छ ।

विगतका वर्षहरुमा गुरु पुर्णिमाको अवसरमा विद्यालयहरुमा विभिन्न कार्यक्रमको आयोजना हुने गर्दथ्यो । तर यस वर्ष कोरोना महामारीको विषम परिस्थितीबीच विद्यालयहरु बन्द छन् ।

परापूर्वकालमा गायत्री मन्त्र प्रदान गर्ने, दिक्षा प्रदान गर्ने र युद्धकलाको साथमा शस्त्रअस्त्रको प्रयोग सिकाउने व्यक्तिलाई गुरुको रुपमा लिने गरिन्थ्यो ।

वर्तमान समयमा गुरुको परिभाषा यत्तिमा मात्र सिमित छैन । सीप, कलाको साथमा ज्ञानको क्षेत्रलाई व्यापक बनिसकेको छ ।

प्रविधिको विकाससँगै युट्युबमा ट्युटोरियल हेरेर लिइने सिकाइले गुरु शिष्य परम्परा हराउँदै गएको छ । यस्तो परिस्थितीमा पनि गुरु पुर्णिमाको महत्व भने रत्ति पनि कम भएको छैन ।

आजको दिनलाई वेद व्यास जयन्तीको रुपमा पनि मनाइन्छ । वेदवेदान्त, अठार पुराण, उपनिषद्का रचयिता वेदव्यासको जन्म आज गुरु पुर्णिमाकै दिनमा भएको विश्वासका साथ आज व्यास जयन्ती मनाउने गरिएको हो । 

Categorized in संस्कृति