arin enterprises

गुरुमापालाई चौरासी व्यञ्जन

SamacharDesk – राम डंगोल | २०८० चैत्र ११, आइतबार

रंगैरंगको पर्व आज होली पर्व । देशभर धूमधामका साथ होली पर्व मनाईरहँदा काठमाडौंमा भने अर्काे एउटा पर्व पनि मनाइन्छ, त्यो हो गुरुमापालाई चौरासी व्यञ्जनको भोज खुवाउने एक विशिष्ट पर्व ।

उक्त पर्वका लागि काठमाडौंको इतुम्वहालस्थित श्री केशचन्द्र कृत पारावर्त महाविहारमा चौरासी व्यञ्जन तयार गरी राती टुंडिखेल अवस्थित रुखमा लगेर गुरुमापालाई भोज खुवाइन्छ ।

भोज खुवाउनका लागि १२ पाथी चामलको भात र एउटा सिंगो राँगाको मासु परिकारहरु तयार पारिन्छ । भोज किलागः त्वाः खलःले हरेक वर्ष गर्दै आएको छ ।

गुरुमापालाई खुवाउने मासुको लागि एक दिन अगाडि नै त्यापाद्वः नामक स्थानमा विधिवत पूजा गरेर राँगा काटिन्छ र त्यही राँगाको मासुको विभिन्न परिकार तयार पारी भोज खुवाइन्छ । भोज पकाउन भने किलागः त्वा खलःका गुथियारहरु गुथी भोज खाइसकेपछि दिउँसाबाट सुुरसार गरिन्छ ।

राती सबै खानेकुरा बोकेर टुंडिखेल लाने गर्दछ । त्वाः खलःका सदस्य मचाराजा महर्जनका अनुसार किलागल टोलदेखि टुँडिखेलसम्म यी खानेकुराहरू बोकेर लाँदा बीच बाटोमा कहीं पनि बिसाउनु हुँदैन ।

किलागल टोलबाट जसले यो भारी बोक्छ, उसले कमसेकम न्यूरोड गेट सँगैको गणेश मन्दिरसम्म एक्लै बोकेर लानु पर्दछ । पालो फेर्न पनि मिल्दैन ।

बाँसको नोलमा १२ पाथीको भात राखेको पीचा (टोकरी) जसले नियन्त्रित रुपमा बोक्न सक्छ उसलाई मात्र बोक्न दिने परम्परा रहेको छ ।  जसको लागि भारी बोकाउँदा पनि बोक्न सक्ने मान्छे हो कि होइन परीक्षण गरेर मात्रै बोक्न दिने गरिन्छ ।

त्यो परीक्षण गर्ने पनि आफ्नै तरिका छ । बोक्छु भनेर आउने गुठियारलाई दुईतिर राखिएको भात र मासुको भारी बोकाएर पहिले सात पाइला अघि र सात पाइला पछि हिँडाइन्छ ।

यदि उनी ढलपल नगरी सिधा हिँड्न सक्यो भने उसैलाई टुँडिखेलसम्म बोकाइन्छ । ढलपल गर्यो भने उसको ठाउँमा अरुलाई मौका दिइन्छ । भारी बोक्नका लागि गुथियारका युवा जवानहरु तछाड मछाड हुने गर्ने उहाँ बताउनु हुन्छ ।

गुरुमापालाई खुवाइने भोज बोक्ने प्रतिष्ठाको विषय नै भएकोले अहिलेसमम बोक्नेहरुको कमी नभएको उहाँ बताउनु हुन्छ ।

भोज बोकेर न्यूरोडको गणेश मन्दिरमा केही अंश राखी पूजा गरिन्छ । त्यहाँबाट भात छर्दै टुंडिखेलको टुँडिखेलको बीचमा पुगे पछि ठूलो टपरीमा राखेर व्यञ्जनहरू चढाइन्छ । गुरुमापालाई भातखुवाइसकेपछि सैनिक अस्पताल भित्ररहेको ‘जधु’ नामक धारामा चुठाइन्छ।

अनि त्यही व्यञ्जन प्रसादको रुपमा सँगै गएका गुठियार एवं श्रद्धालुहरूले खाने गर्छन् । गुरुमापालाई खुवाइने उक्त भात र मासुको प्रसाद खाएमा पेट सम्बन्धी रोग लाग्दैन भन्ने जनविश्वास रहेको छ ।

यो पर्व मनाउनुको मुख्य कारण सहरलाई गुरुमापाको त्रासबाट जोगाउन र आप्mनो बालबच्चाको सुरक्षाका लागि मनाउँदै आएको देखिन्छ ।

गुरुमापा सम्बन्धी एक प्रशिद्ध किंवदन्ती प्रचलित छ : काठमाडौंको इतुम्बहालमा कुनै बेला केशचन्द्र नामक त्वाः जुजु (टोलको राजा) बस्दथे ।

उनी अत्यन्तै जुवाडे रहेछन् । जुवामा सबै सम्पत्ति हार्छन् । खानलाई समेत केही हुँदैन । एक दिन उनी खाना खानको लागि थँबही (हालको ठमेल) मा रहेकी आफ्नी दिदीको घरमा पुग्छन् ।

दिदीले उनलाई सुनको थालमा भात पस्केर खुवाउँछिन् । तर भात खाइसके पछि उनी सुनको थालै बोकेर जान्छन् र फेरि जुवा खेल्छन् । फेरि हार्छन् । अर्को दिन फेरि दिदीको घरमा पुग्छन् ।

यस पटक दिदीले उनलाई चाँदीको थालमा भात खुवाउँछिन् । भात खाइ सकेपछि केशचन्द्र चाँदीको थाल पनि लिएर हिँड्छन् । एवंरितले थालै लिएर हिँड्ने भएपछि एक दिन दिदीले उनलाई भुइँमै भात पस्केर खान दिन्छिन् ।

यो देखेर केशचन्द्र साह्रै दुःखी भई भुइँको भात टिपेर एउटा कपडामा पोका पारी त्यहाँबाट हिँड्छन् । टाढा कुनै एकान्त ठाउँमा पुगेपछि भात खानलाई हेर्दा भात कुहिएको हुन्छ ।

भोकले रन्थिनिएका केशचन्द्र त्यही भात भए पनि खानलाई घाममा सुकाउँछन् । तर त्यहीबेला उनलाई निद्रा लाग्छ । उनी सुतिरहेकै बेला परेवाका एक बथान आएर भात सबै खाइदिन्छन् ।

केशचन्द्र निद्राबाट ब्युँझेर हेर्दा भात त एक सिता पनि हुँदैन । उनी दुःखी भई रुन्छन् र रुँदारुँदै फेरि निदाउँछन् । उनको दुःख देखेर परेवाहरू सबैले दिसा गरेर जान्छ । उक्त दिसा सुनमा पविर्तनहुन्न्छ ।

केशचन्द्रको निद्रा खुल्छन् र यो देखेर दंग पर्छन् । त्यो उनले बोकेर लान पनि सक्दैनन् । त्यही बेला त्यहाँ गुरुमापा राक्षस आएर केशचन्द्रलाई खान खोज्छन् ।

केशचन्द्रले गुरुमापालाई मामा मित लगाई सम्बोधन गरेर सुन सबै उसैलाई बोकाई आफ्नो घर आउँछन् । केशचन्द्र फेरि धनी हुन्छन् । तर उनी पहिले जस्तो जुवाडे नभई धर्मकर्ममा लाग्छन् ।

उता उनको घरमा राखिएको गुरुमापाले भने कसैले नदेख्ने गरी टोलका बच्चाहरु चोरेर खान थाल्छन् । यो कुरा थाहा पाएर केशचन्द्रले उनलाई आफ्नो टोलभन्दा अलि पर त्यापाद्वः भन्ने ठाउँमा राख्न लाग्छन् ।

तर गुरुमापाले त्यहाँ बसेर पनि बच्चा खान छोड्दैनन् । अन्तमा उनलाई शहरबाटै बाहिर टुँडिखेलको बीचमा राखेर दिनको एक मुरी चामलको भात र एउटा राँगोको मासु ख्वाउन ल्याउँछौँ तर टुँडिखेलबाट बाहिर आउन पाइँदैन भनेर कबुल गराउँछन् ।

कबुल अनुसार गुरुमापा टुँडिखेल भित्रै बस्छन् । र, यता टोलवासीले पनि कबुल अनुसार उनलाई दिनहुँ मासु भात खुवाउन लाने गर्छन् ।

त्यसैको प्रतीक स्वरुप अहिले हरेक वर्ष होली पूर्णेका दिन किलागल टोलवासीले चौरासी व्यञ्जनै पकाएर गुरुमापालाई खुवाउने गर्दै आइरहेको छ ।

त्यहीं टुँडिखेलमा पुर्‍याइएका गुरुमापाले सोधेका रहेछन्, ुयहाँ मेरो के काम त रुु उनलाई काम दिइएको थियो, इँटाका तीन टुक्रा कतै देखियो भने त्यसलाई अलग अलग गर्ने ।

झै पनि विश्वास छ, टुँडिखेलमा राति तीन टुक्रा इँटा जोडेर राखियो भने भोलि बिहान त्यो कहिल्यै सँगै हुँदैन । अनि विश्वास यस्तो पनि, गुरुमापा रहेको रूखको छेउछाउ बच्चाहरू जानु हुन्न । गुरुमापाले खायो भने !

 

Categorized in संस्कृति