arin enterprises

सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

SamacharDesk | २०८० आषाढ १३, बुधबार

ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन्।

ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले उनलाई उनकै निवास नक्सालबाट पक्राउ गरेको हो।

सीआईबीले मंगलबार सार्वजनिक लिखत कीर्तेको अभियोगमा ७ जनालाई पक्राउ गर्‍यो । पक्राउ परेका ७ जनामध्ये मंगलबार साँझ नै ३ जना रिहा भएका छन् ।

सरकारी वकिल र प्रहरीले कानुनी प्रावधानको बेवास्ता ढिलासुस्तीका कारण सार्वजनिक लिखत कीर्तेको अभियोगमा उजुरी परेको दुई वर्षभित्र मुद्दा चलाउनुपर्नेमा सीआईबीले हदम्याद गुजारेर आरोपितहरु पक्राउ गरेको हो ।

जसले गर्दा कानुनी जटिलता देखिएको छ । सर्वोच्च अदालतले गरेको अन्तरिम आदेश देखाएर पक्राउ परेकामध्ये डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसी रिहा भएका हुन् ।

ललिता निवास जग्गा प्रकरणमा मुछिएका गुरुङ २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा उनी आरोपित रहेका थिए। यसअघि उनी फरारको सूचीमा रहेका थिए।

ललिता निवास जग्गा प्रकरण सरकारले छानवीन गरेको प्रतिवेदन अनुसार सरकारले ०२१ मंसिर १५ गते क्षतिपूर्ति र मुआब्जा दिएर खरिद गरेको २८४ रोपनी मध्ये ११२ रोपनी ४ आना जग्गा मीनबहादुर गुरुङ, शोभाकान्त ढकाल र रामप्रसाद सुवेदीले मालपोत कार्यालयका हुपेन्द्रमणि केसी र टीका घिमिरेसँगको मिलोमतोमा खरिद गरेको देखिन्छ।

कित्ता नम्बर ७४, १३७, ४१३ का जग्गाहरु गुरुङले आफ्नै नाममा लिएका थिए। गुरुङले भाटभटेनी डेभलपर्स प्रालिका नाममा १० कित्ता जग्गा राखेको देखिन्छ।

कित्ता नम्बर १०, १२, १४, १७, ५७, ५८, ७९, ८१, ८२ र २८६ को जग्गा अहिले पनि भाटभटेनीको नाममा छ। बाँकी जग्गा छोरो कल्याण लगायतका आफन्तका नाममा राखिएको छ।

गुरुङले नै एनआरएनलाई पनि वालुवाटार जग्गामा जोडेको बताइन्छ । सरकारी अनुसन्धान अनुसार उनले व्यक्तिगत, संयुक्त, भाटभटेनी सुपरमार्केट र आफन्तका नाममा जग्गा खरिद गरेका थिए।

Categorized in समाज