नयाँ वर्ष २०७९ शुरु
SamacharDesk | २०७९ बैशाख १, बिहिबार

विक्रम संवतको नयाँ वर्ष २०७९ आजदेखि सुरु भएको छ । सूर्य मीन राशीबाट मेष राशीमा प्रवेश गरेको दिन अर्थात् बैशाख १ गतेदेखि यो संवत् प्रारम्भ हुन्छ । त्यसैले आजको दिनलाई मेष संक्रान्ति पनि भनिन्छ ।
स्वदेश तथा विदेशमा रहेका नेपालीहरु एकापसमा शुभकामना ब्यक्त गर्दै यो पर्व मनाईरहेका छन् । नयाँ वर्षको पहिलो दिन गरेका क्रियाकलापको प्रभाव बर्षभरी नै पर्ने विश्वासमा मिस्ठान्न भोजन, भेटघाट तथा रमाइलो गर्ने चलन । यस्तै बिहानै स्नान गर्ने, घर, कोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ ।
नेपालमा विक्रम संवत्ले सांस्कृतिक र औपचारिक मान्यता पाएको छ । बैशाख १ गतेबाट वर्ष परिवर्तन भएको मान्ने चलन नेपालमा मात्र सीमित छैन । भारत, बंगलादेश, र श्रीलंकासहित एशियाका केही अन्य देशमा पनि यही दिन नयाँ वर्ष मनाइन्छ । भारतको उज्जैनका पौराणिक राजा विक्रमादित्यले चलाएको सम्वत्को रुपमा विक्रम सम्वत्लाई चिनिन्छ ।
विक्रम सम्वत् अंग्रेजी सम्वत् ‘ए.डी’ भन्दा ५६ दशमलव ७ वर्षले अगाडि छ । त्यसैगरी, नेपाल सम्वत् भन्दा ९ सय ३६ वर्ष ६ महिना अगाडि छ भने शक् सम्वत् भन्दा १३५ वर्ष अगाडि, कली सम्वत् भन्दा ३०४४ वर्ष पछाडि र हिजरी सम्वत् भन्दा ६३६ वर्ष अगाडि छ ।
विक्रम सम्वत्का समग्र तिथि मितिहरू पृथ्वी र चन्द्रमाबीचको कोण अनि अवस्थितिमा फरक पर्दछन्, त्यसैले यसलाई चन्द्रमास पनि भनिन्छ । नयाँ वर्षको दिन भक्तपुरमा बिस्काः जात्रा, जिब्रो छेड्ने जात्रा, विभिन्न सिन्दुर जात्राहरु, तराईमा सिरुवा पर्व एवं जुडशीतल पर्व मनाउने गरिन्छ ।
Categorized in राष्ट्रिय