आफ्नो विरोधीले पापइमा आगो लगाएको मेयर साम्पाङको आरोप
SamacharDesk | २०८० चैत्र ८, बिहिबार

मेयर हर्क साम्पाङको अगुवाईमा कोकाह खोलाबाट धरान ल्याइएको पानीको पाइप आगलागीबाट क्षति भएको छ ।
वडा नम्बर २० मा आगलागीका कारण खानेपानी पाइमा क्षति पुगेपछि मेयर हर्क साम्पाङ रुष्ट बनेका छन् ।
मेयर हर्क साम्पाङले धरानवासीले मेयरमा जिताएमा धरानमा वर्षाैदेखिको पानीको समस्या हटाउने बाचा अनुरुप उनले धरान जनताहरुको साथ र सहयोगमा पाइपमार्फत धरानसम्म ल्याएर पानीको समस्या केही हदसम्म निर्मुल पारेको थियो ।
जनश्रमदानबाट बनाइएको उक्त पानीको स्रोतमा आगलागी भएपछि मेयर साम्पाङले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका हुन् । केही दिन यता धरान वडा नम्बर-२० को जङ्गल क्षेत्रमा आगलागी भइरहेको छ ।
आगलागी भएपछि मेयर साम्पाङ र उनका समर्थक आगो निभाउन सो क्षेत्र पुग्ने गरेका छन् । तीन दिन यता पटक-पटक आगो निभाउन जङ्गल क्षेत्रमा पुगेका मेयर साम्पाङले फेसबुकमार्फत प्रत्यक्ष प्रसारण समेत गरेका छन् । उनले प्रत्यक्ष प्रसारण मार्फत विरोधीले आगो लगाएको बताएका छन् ।
उनले आफ्नो स्टाटसमा लेखेका छन्, “मलाई असफल बनाउन चाहनेहरु हो... तिमीहरुलाई के थाहा म तिमी र तिम्रै सन्तानको लागि दिनरात एक बनाएर लडिरहेको छु, खटिरहेको छु भन्ने ।
मलाई असफल बनाउन चाहने तिम्रो अभिष्ट भित्र कतै देश छैन तर मेरो कर्म गर्ने मनसुवा भित्र देशै देश छ जुन देशमा तिमी पनि आफ्नो सन्तानको साथ बाँचिरहेको छ । तिम्रै सन्तानका लागि पनि मैले गरेको यो हर प्रयासलाई तिमी विरोध गर्छाै ।
खिसीटिउरी गर्छाै तर म लागिरहनेछु तिमीलाई पानी खुवाउन र तिम्लाई सेवा सुविधा दिन मेरो प्रयास निरन्तर भइनै रहने छ । तिमी मलाई घृणा गर र पाप चिताऊ तर म तिम्रो लागि पनि आफ्नो कर्तव्य पथमा बढिनै रहनेछु ।"
मेयर साम्पाङले कोकाह खोलाको पानी ल्याउन श्रमदान अभियानबाट ४१ किलोमिटर पाइप बिच्छ्याएर ९८ दिनमा कोकाह खोलाको पानी श्रमदानमै धरान ल्याउन सफल भएको थियो ।
तर पाइप नपुर्दा हावाहुरीका कारण आगो लागेको हुनसक्ने कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय विपद् शाखाले जनाएको छ ।
Categorized in समाज