सिक्किमका विद्यार्थीहरुबाट नेपालभाषा केन्द्रीय विभागका प्रमुख सम्मानित
SamacharDesk – बिराज | २०८० आषाढ १४, बिहिबार

सिक्किमको गान्तोकस्थित राष्ट्रिय भाषा एव्म संस्कृति विद्यालयमा नेपालभाषा शिक्षणको लागि तालिम लिइरहेका र सरकारी अधिकारीहरुलाई बुधवार नेपालभाषा केन्द्रीय विभागमा स्वागत गरिएको छ ।
विद्यालय प्रमुख विकास प्रधानको नेतृत्त्वमा विद्यार्थीसहित आएको २० जनाको टोलीलाई विभागमा स्वागत गरिएको हो ।
उक्त टोलीलाई स्वागत कार्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्यालय नेपालभाषा केन्द्रीय विभागका प्रमुख सह प्रा. डा. राजनलाल जोशीले विश्वको जुनसुकै कुनामा रहेर नेवार भाषा, संस्कृति, सभ्यताको उत्थानको लागि सक्रिय रहेकाहरुलाई सहयोगको लागि विभाग तयार रहेको बताए ।
भाषा, जाति संस्कृतिको उत्थानको लागि सिक्किम सरकारको सक्रियताको प्रशंसा गर्दै विभागीय प्रमुख जोशीले भने ‘कुनै पनि जाति, भाषा, समूह लोप हुनु भनेको मानव सभ्यता लोप हुनु हो । त्यसैले सिक्किम सरकारले मानव सभ्यताको संरक्षणको लागि खेलेको भूमिकाको उच्च मुल्यांकन गरिनुपर्छ ।’
संस्कृति विद्यालयका प्रमुख प्रधानले १०–१५ वर्ष अघिसम्म बेवास्ता गरि बसेका नेवारहरुले अहिले पहिचान खोज्दै नेपालभाषा, संस्कृति, लिपि, संगीत र नृत्यलाई विशेष स्थान दिनुका साथै इन्द्रजात्रालगायत विभिन्न नेवार चाडपर्वहरु मनाउने गरेको बताए ।
सिक्किममा नेपालभाषा र नेवार पहिचान संरक्षणको लागि वर्षेनी स्नातकोत्तर तह अध्ययनका लागि नेपालमा विद्यार्थी पठाउने योजना रहेको जानकारी पनि प्रधानले गराए ।
६ दिने नेपाल भ्रमणका लागि गत असार १२ गते नेपाल आएको टोलीलाई सम्वोधन गर्दै उपप्रा. डा. वज्रमुनि वज्राचार्यले जाति, भाषा, संस्कृतिको उत्थानको लागि सहकार्य गर्न विभाग तयार रहेको बताए ।
कार्यक्रममा नेपालभाषा केन्द्रीय विभागका प्रमुख डा. जोशीलाई सिक्किमको विद्यार्थी समूहले सम्मान पनि गरेको थियो ।
विद्यालयमा नेपालभाषाको साथमा लिपि, बाजा र नृत्य सिकाउने उद्देश्यले सिक्किमका विभिन्न स्थानबाट एक वर्ष अघिबाट १६ जना विद्यार्थीहरुले प्रशिक्षण लिइरहेका छन् ।
Categorized in समाज