arin enterprises

स्वास्थ्य विमाको रकम ५ लाख बनाउने मन्त्रीको उद्घोष

SamacharDesk | २०८१ श्रावण २८, सोमबार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमाको दायरा कम्तीमा ५ लाख रुपैयाँ बराबरको बनाउने घोषणा गर्नुभएको छ ।

आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा आफूले प्राथमिकतामा राखेका विषयहरु र गर्ने कार्यक्रमहरुका विषयहरु सार्वजनिक गरेका हुन् ।

मन्त्री पौडेलले सार्वजनिक गरेको कार्यक्रममा तीनै तहबीचको दोहोरोपन हटाएर एकीकृत प्रणालीमार्फत जनस्वास्थ्य सुधार अघि बढाइने घोषणा गरेका मन्त्री पौडेलले आफ्नो योजनामा अस्पतालको सेवा, स्वास्थ्य बीमा प्रभावकारी बनाउनेदेखि तीन तहको दोहोरोपन हटाउने अनि नागरिकको स्वास्थ्य सुधारसम्मका विषय समेटेका छन् ।

उहाँले आफ्नो कार्ययोजना सार्वजनिक गर्दै अहिले एक लाख रुपैयाँ मात्रै रहेको स्वास्थ्य बिमाको दायरालाई बढाएर पाँच लाख रुपैयाँको बनाउने घोषणा गर्नुभएको हो ।

स्वास्थ्यका कार्यक्रम एकीकृत गरेर स्वास्थ्य बिमामा सुधार ल्याउन रकमको दायरा बढाइने मन्त्री पौडेलको भनाइ छ । आमा सुरक्षा कार्यक्रम, विपन्न नागरिक औषधि उपचार कार्यक्रम र निःशुल्क उपचारका सबै कार्यक्रम एकीकृत गरेर बिमामा जोड्ने योजना रहेको उहाँले बताउनुभयो ।

बिमाको झन्झटिलो प्रक्रियालाई समेत सहज बनाउने उहाँको भनाइ छ । कार्ययोजना तयार पार्नुअघि मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग छलफल गर्दै सुझाव संकलन गरेको बताए ।

उनले पूर्व स्वास्थ्यमन्त्रीहरु, पूर्व स्वास्थ्य सचिव, पूर्व महानिर्देशकहरु, पूर्व महाशाखा प्रमुखहरु, स्वास्थ्य क्षेत्रका सरोकारवाला संघ, संस्था र नियकाहरुका प्रतिनिधहरु, बहालवाला कर्मचारीहरु, अस्पताल निर्देशकहरु, सञ्चारकर्मीहरु, निजी क्षेत्र तथा विकास साझेदार सहित स्वास्थ्य क्षेत्रका विज्ञ र अनुसन्धानदाताहरुसँग छलफल गर्दै सुझावहरुलाई समेटेर कार्ययोजना बनाएको जानकारी दिए ।

Categorized in राष्ट्रिय