भाइरस रिमुभिङ कार्डले स्वास्थ्यमा झन समस्या ल्याउने स्वास्थ्य मन्त्रालयको भनाई
SamacharDesk – विकाश | २०७७ आषाढ १४, आइतबार

नेकपा स्थायी कमिटीमा वैठकमा नेकपाका शिर्षस्थ नेताहरुले घाँटीमा झुन्ड्याएपछि कोरोना जन्तरको नामबाट चर्चामा आएको भाइरस रिमुभिङ कार्डले कोभिड१९ नियन्त्रण गर्ने नभई उल्टो स्वास्थ्यमा प्रतिकुल असर गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना भाईरसलाई हटाउन भाइरस रिमुभिङ कार्ड पत्ता लागेको र यो कार्ड घाँटीमा झुन्ड्याएमा कोभिड १९ रोग लाग्दैन भन्ने भ्रम श्रृजना भएको विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
कोभिड रोग विश्वव्यापी रुपमै नयाँ रोग भएको र यसको रोकथाम र नियन्त्रणका उपायको बारेमा वैज्ञानिक र चिकित्सकहरु रातदिन अध्ययन गरिरहेको बताउँदै डा. गौतमले कुनै पनि नयाँ कुरा पत्ता लाग्ने वित्तिकै जानकारी हुने संयन्त्र मन्त्रालयमा रहेको दावी गरे ।
हालसम्म यस किसिमको कुनै पनि कार्ड पत्ता नलागेको र यस किसिमको कुनै विधि र प्रकृया नै शुरु नभएको समेत प्रवक्ता डा. गौतमले भने ।
‘यस्तो विधि भएको भएर संसार भर यस्तो कठिनाई हुँदैनथ्यो । यस्तो विधि हालसम्म प्रभावकारी पनि पाइएको छैन, ’ डा. गौतमले भने । ‘प्रभावकारी पाइएमा मन्त्रालय आफैले प्रकृया पुरा गरी सबैलाई उपलब्ध गराउने गरी अगाडी बढ्नेछ ।’
साथै यस किसिमको कुनै पनि कार्डलाई नेपाल सरकारले हालसम्म स्वीकृति नदिएको जानकारी डा. गौतमले दिनुभयो ।
यो कार्डले कोभिड रोगलाई नियन्त्रण गर्ने नभई उल्टो मानव स्वास्थ्यमा समस्या पैदा गर्ने डा.गौतमको भनाई थियो ।
‘त्यस किसिमका कार्डमा प्रयोग भएका भनिएका रसायनहरुले मुटु, फोक्सो, कलेजो लगायतका अङ्गहरुमा असर गरी स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न गर्दछ,’ गौतमले भने । ‘त्यसैले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय यस्ता भ्रममा परी भाइरस रिमुभिङ कार्डको प्रयोग नगर्नु, नगराउनुहुन सबैमा अनुरोध गर्दछ ।’
प्रवक्ता गौतमले भाइरस रिमुभिङ कार्डका नामले कार्ड बनाउने, विदेशबाट ल्याउनुका साथै व्यापार प्रयोजनका लागि बजारमा उपलब्ध गराउने र समाजका प्रतिष्ठित व्यक्तिको गलामा झुन्ड्याइ प्रचारबाजी गर्ने गरेको देखिएकोमा स्वास्थ्य मन्त्रालयलाई चिन्तित तुल्याएको डा. गौतमले भने ।
शुक्रबार बसेको नेकपाको स्थायी कमिटि वैठकमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नै कोरोना भाइरस नजिक आउन नदिने भन्दै भाइरस रिमुभिङ कार्ड वैठकमा उपस्थित नेताहरुलाई वितरण गरेका थिए ।
जनस्वास्थ्यमाथि खेलवाड गर्ने खालका, नियम विपरित भएका गतिविधिलाई कानूनी दायरमा ल्याई कारवाही प्रकृया अगाडी बढाउन समेत मन्त्रालयले अनुरोध गरेको छ ।
विभिन्न व्यक्ति र समूहको निहित स्वार्थका कारण विभिन्न भ्रमहरु श्रृजना गर्ने गराउने र त्यसैलाई फैलाइने क्रम यथावत रहेको भन्दै गौतमले भ्रमहरुबारे जानकारी गराउने सम्पूर्ण सचेत नेपालीलाई धन्यवाद समेत ज्ञापन गर्नुभयो ।
Categorized in राष्ट्रिय