arin enterprises

प्रोत्साहन भत्तादेखि पिपिईसम्म केही नपाएको स्वास्थ्यकर्मीहरुको गुनासो

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ भाद्र २३, मंगलबार

कोभिड १९ रोकथाम र नियन्त्रणका सम्बन्धमा सरकारले गरेका कामकार्वाहीको अनुगमन गर्न गठित उपसमितिले आज विभिन्न स्वास्थ्य परिषदका पदाधिकारीहरुसँग छलफल गरेको छ ।

वैठकमा सहभागीहरुले प्लाज्मा बैंकको ब्यवस्थापन भए कोभिडको उपचार प्रभावकारी हुनेमा जोड दिएको थिए ।

त्यस्तै कोभिड उपचारमा खटिएका स्वास्थयकर्मीहरुले प्रोत्साहन भत्ताको साथमा व्यक्तिगत सुरक्षा सामग्री समेत नपाएको गुनासो गर्दै सरकारले यसको ब्यवस्थापन गरि स्वास्थकर्मीलाई प्रोत्साहन गर्नुपर्ने सुझाव दिए ।

पाटन स्वास्थ बिज्ञान प्रतिष्ठानका निर्देशक डा.रबि शाक्य र वीर अस्पतालका कार्यकारी निर्देशक डा. केदार प्रसाद सेन्चुरीले पाटन र वीर जस्ता अस्पतालले आफ्नो ५० प्रतिशत भन्दा बढी कर्मचारीलाई अस्पतालको आमदानीबाट तलब भत्ता खुवाइदै आएकोमा अहिले आम्दानी शुन्य भई समस्या भइरहेको बताउनुभयो ।

नेपाल नर्सिङ परिषदकी अध्यक्ष प्रा.डा. गोमा देवि निरौलाले जोखिम मोलेर अहोरात्र विरामीको हेरचाहमा खटिने नर्सहरुको सुरक्षाका लागि राज्यले ध्यान नदिएको गुनासो गर्नुभयो ।

नेपाल स्वास्थ्य ब्यवसायी परिषदका रजिस्ट्रार पुष्पराज खनालले ल्याब स्थापनापछि सरकारले गुणस्तर जाँचमा ध्यान नदिएको भन्नुभयो । एउटै नमूनाको फरक प्रयोगशालामा हुने परिक्षणको नतिजा फरक नै आउने गरेको बताउनुभयो ।

नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. कृष्ण अधिकारीले नेपालमा कोरोना संक्रमण भित्रिएको महिनौं वितिसक्दा पनि सरकारले स्वास्थ्य सामग्रीको गुणस्तर मापन अनि बजेट र जनशक्तिको परिचालन गर्न नसकेको बताउनुभयो ।

उपसमिति संयोजक संघीय सांसद जीवनराम श्रेष्ठले सबैलाई आफ्नो जिम्मेवारी इमान्दारी र सकृयताकासाथ निर्वाह गर्न सबैलाई आग्रह गर्नुभयो । 

साथै नन कोभिड बिरामीले सहज सेवा प्राप्त गर्ने कुरामा ध्यानाकर्षण गराउँदै सांसद श्रेष्ठले स्वास्थ्यकर्मीको जोखिम भत्ता, तलव र प्लाजमा बैंकका कुराहरु संघीय सरकारसम्म पुर्याउने आश्वासन दिनुभयो ।

Categorized in राष्ट्रिय