कात्तिक नाचका ऐतिहासिक पात्र हरिमान रहेनन्
SamacharDesk – रक्षण राजाेपाध्याय | २०८१ मङ्सिर १७, सोमबार

ललितपुरको ऐतिहासिक कात्तिक नाचमा ६२ वर्षदेखि योगदान पुर्याउँदै आएका हरिमान श्रेष्ठको निधन भएको छ ।
कात्तिक नाचमा एक ऐतिहासिक पात्र मानिएका श्रेष्ठ गत मंसीर १४ गते शुक्रवार ८८ वर्षको उमेरमा अकस्मात मृत्यु भएको हो ।
कुनै प्रकारको स्वास्थ्य समस्या नभएका श्रेष्ठ शुक्रवार विहान नास्ता गरी आराम लिँदै बसेका थिए ।
त्यहि बेला उनलाई केही अप्ठ्यारो महसूस भएको बताएको परिवार श्रोतले जानकारी दिएको छ । अप्ठ्यारो महसूस भएको भन्दै पलेंटी कसेर बसेको उनको त्यस्तै अवस्थामा मृत्यु भएको थियो ।
उनलाई पाटन अस्पताल लगिएपनि अस्पताल पुग्दा उनलाई मृत घोषित गरिएको थियो ।
मंसीर १३ गते विहिबार मात्रै उनको ८८औं जन्मदिन मनाइएको थियो । जन्मदिनको भोलिपल्ट नै उनको मृत्यु भएको हो ।
उनको अन्तिम संस्कार शुक्रवारै पशुपति आर्यघाटमा सम्पन्न भइसकेको छ । उनलाई उनका ज्येष्ठ सुपुत्र सरोजमान श्रेष्ठले दागबत्ती दिए ।
स्वर्गीय श्रेष्ठको परिवारमा उनकी श्रीमति शुभद्रा श्रेष्ठको साथमा दुई छोरा र एक छोरी छिन् ।
उनको जन्म १९९३ साल मंसीर कृष्ण त्रयोदशीको दिनमा भएको थियो ।
उनले ७० वर्षसम्म लगातार कात्तिक नाचमा नाच्नुभएको छ । कात्तिक नाचको निरन्तरताका लागि उनले २००८ देखि २०७० सालसम्म लगातार नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको छ ।
Categorized in संस्कृति