arin enterprises

देशभरका स्वास्थ्य संस्था आकस्मिक सेवाबाहेक बन्द

SamacharDesk | २०८० भाद्र ३१, आइतबार

हेटौंडामा चिकित्सक कुटिएको घटनाको विरोध गर्दै नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द गरेको छ ।

हेटौँडाको सन्चो अस्पतालमा कार्यरत चिकित्स डा. विकास थापा र प्रशान्त विडारीमाथि भएको सांघातिक आक्रमणका दोषीलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै चिकित्सक संघ आन्दोलित भएको हो ।

संघले हिजो विज्ञप्ति जारी गर्दै आज देशभरका अस्पालहरुमा आकस्मिक बाहेक सबै सेवा ठप्प पार्ने जनाएको हो । संघले चिकित्सकमाथि कुटपिट गर्नेमाथि फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानूनी कारवाहीको सुनिश्चितता हुनुपर्ने माग गरेको छ ।

संघले आज देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरू पूर्ण रूपमा बन्द रहने पनि संघले जनाएको हो ।

विज्ञप्तिमा देशभरका स्वास्थ्य संस्थाहरूमा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था अविलम्ब मिलाउन समेत माग गरिएको छ ।

भदौ २७ गते सञ्चो अस्पतालका चिकित्सकद्वय प्रशान्त विडारी र विकास थापामाथि गत महिना उपचारका क्रममा मृत्यु भएका विरामीका आफन्तले आक्रमण गरेका थिए ।

थापा र बिडारीमाथि भएको आक्रमणका दोषीलाई कानुनी दायरामा ल्याउन भन्दै संघले घटना भएकै दिन सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको थियो ।

तर दोषीहरूलाई पक्राउ गरी कानुनी कारबाही चलाउनुको सट्टा स्थानीय सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयका जिम्मेवार व्यक्तिहरूले मेलमिलाप गराउन खोजेको पनि चिकित्सक संघले आरोप लगाएको छ ।

कुटपिटको घटनामा संलग्न चार जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धानका लागि तीन दिनको म्याद भने लिईसकेको छ । पक्राउ पर्नेमा मकवानपुर पदमपोखरीका रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधान रहेका छन् ।

उनीहरु मृतक राजेश प्रधानका परिवारका सदस्यहरु हुन् ।

Categorized in राष्ट्रिय