आज विश्व संगीत दिवस कसरी मनाए संगीतकर्मीहरुले ?
SamacharDesk – विकाश | २०७७ आषाढ ७, आइतबार

आज जुन २१ विश्व संगीत दिवस । फेरी कोरोना महामारीको अवस्थामा संक्रमणको जोखिम ।
तर संगीतमै डुबेका संगीतप्रेमीहरुलाई दिवस मनाउन महामारीले रोक्न सकेन । संगीतकर्मी र संगीतप्रेमीहरुले आआफ्नो तरीकाले यो दिवस मनाएका छन्, तर सुरक्षित रहेर, सावधानी अपनाएर ।
कतिले भर्च्युअल संसारमा साँगितिक प्रस्तुति दिए त कसैले आजको दिनमा नयाँ म्यूजिक भिडियो वा साँगितिक प्रस्तुतिको भिडियो सार्वजनिक गरे ।
भीम तुलाधरले मेरो गीत सार्वजनिक गरे
विश्व संगीत दिवसकै क्रममा वरिष्ठ पप गायक भीम तुलाधरले आफ्नो पछिल्लो एल्बम अन्तरालको गीत ‘मेरो गीतमा सधैं तिमी शब्द बनी आउ’को भिडियो सार्वजनिक गरे ।
आज विहानै युट्युबमा गीत अपलोड गरेर गायक तुलाधरले आफ्नो फेसबुक वालमा शेयर गरे ।
उनले गीत शेयर गर्दै यस्तो लेखे, ‘अहिलेको परिस्थितिलाई मध्यनजर गरेर सम्पुर्ण सावधानी अपनाएर हामीले यो भिडियोमा सिमितता अपनाएका छौं । साधारण मोबाइलबाट खिचिएको यस भिडियोलाई सकेसम्म राम्रो बनाउने पुर्ण प्रयास पनि हामिले गरेका छौँ ।’
लकडाउनको समयमा बन्द कोठामा म्यूजिकल इन्स्ट्रुमेन्ट्सको ब्याकग्राउन्डमा गीतको छायाङ्कन गरिएको छ ।
गीतको निर्देशनको साथमा छायाङ्कन र सम्पादन संचारकर्मी बिराजकाजी राजोपाध्यायले गरेका छन् ।
कलिन्दको चर्चित 'गीत लजालु मुस्कान' को रिमेक भर्सन सार्वजनिक
एक समय युवाहरुमाझ निकै चर्चित बनेको कलिन्द ब्यान्डको गीत ‘लजालु मुस्कानले प्रियसी’ को रिमेक भर्सन पनि आज विश्व संगीत दिवसमै सार्वजनिक भएको छ ।
यो गीत पनि लकडाउनको नियम र सावधानी अपनाएर नै छायाङ्कन गरी बनाइएको छ ।
सबै ब्यान्ड मेम्बर, कलाकारहरु घरको कौसी कौसीमा बसेर छायाङ्कन गरीएको यो गीतको भिडियो आफ्नो फेसबुक वालमा शेयर गर्दै कलिन्दका लिड गिटारिस्ट भुपेन्द्र बज्राचार्यले यो गीतको भिडियोलाई कौसी भिडियो नाम दिए ।
गीतमा अहिले विशेष गरी नेपालभाषाको चलचित्र क्षेत्रमा चर्चित रहेकी नायिका, मोडल आराध्यालक्ष्मी खड्गी मोडलको रुपमा रहेकी छन् ।
गीतको निर्देशन महेश्वर श्रेष्ठले गरेका छन् ।
रुवेनले ल्याए यो समय र परिस्थिती
युवा गायक रुवेन अवालेको गीत ‘यो समय र परिस्थिती रहँदैन सधैंभरि’ पनि आजकै दिन सार्वजनिक गरिएको छ ।
गीतले आजको परिस्थितीले हतास नहुन र सबैलाई जुट्नको लागि प्रेरीत गरेको छ ।
गीतको भिडियोमा विशेष गरी आजको महामारीको परिस्थितीमा पनि जोखिम मोलेर अग्रपंक्तिमा रहेर कर्म गरिरहेका संचारकर्मी र चिकित्सकहरुलाई देखाएको छ ।
भिडियोको निर्देशन संचारकर्मी सागर महर्जनले गरेका छन् ।
लकडाउनमा केही उदाहरणीय काम गरौं भन्ने सोचसँगै यो गीत लेखेको र गायक साथी रुवेनले गीत देखेपछि कम्पोज गदैं गाएर तयार भएको भिडियोका निर्देशक साथै गीतका रचनाकार सागरले बताए ।
‘शुरुमा लिरिकल भिडियो बनाउने सोच थियो । पछि सबैलाई आआफ्नै घरबाट वा पायक परेको ठाउँबाट खिचेर पठाइ दिन अनुरोध गर्दै एक एक टुक्रा भिडियो मागें र यो भिडियो तयार गरें’ सागरले बताए ।
इमर्ज ब्यान्ड र रोहनको प्रस्तुति पनि सार्वजनिक
विश्व संगीत दिवसको अवसरमा इमर्ज ब्यान्डले नेपालभाषाको गीत ‘मैंचा’ संगीतप्रेमीहरु माझ पस्किए ।
इमर्ज ब्यान्डले आफ्नै यूट्युब च्यानलमार्फत हिजो मैंचा गीतको लिरिकल भिडियो सार्वजनिक गरेको थियो ।
उजन शाक्यको रचना, संगीत र स्वर रहेको यो गीत एक दिनमै १४ हजार बढिले हेरिसकेका छन् ।
यसको साथै यहि इमर्ज ब्यान्डका गिटारिस्ट रोहन शाक्यले पनि आज दिवसको अवसरमा गिटार ज्यामिङ गर्दै भिडियो सार्वजनिक गरे ।
रेग्गीको बिटमा गिटार ज्यामिङ गर्दै भिडियो बनाएर शेयर गरी रोहनले विश्व संगीत दिवस मनाएका हुन् ।
Categorized in पेजथ्री
