arin enterprises

‘मधेसीले कतिपल्ट अग्नि परिक्षा दिने ?’ – महतो

SamacharDesk – विकाश | २०७७ जेठ ३२, आइतबार

भारतबाट अतिक्रमित भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ नक्सा निशान छापमा राख्नका लागि ल्याइएको संशोधन विधेयक हिजोको प्रतिनिधि सभाको वैठकमा सर्वसम्मतिले पास भयो ।

वैठकमा उपस्थित २ सय ५८ जना सांसद सबैले विधेयकको पक्षमै मतदान गरे । विपक्षमा शुन्य मत थियो ।

कानूनमन्त्री शिवमाया तुम्बाहाम्फेले विधेयकमाथि दफावार छलफलको लागि प्रस्तुत गरिन् भने सांसदहरुले छलफलमा भाग लिँदै आआफ्नो धारणा र जिज्ञासा राखे । 

सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाईलाई सबैले ताली पिटेर समर्थन जनाए ।

प्रचण्डले भने, ‘राजतन्त्रले गुमाएको नेपाली भूभाग गणतन्त्रले फिर्ता ल्याउँदैछ ।’

प्राय विषयवस्तुमा प्रमुख प्रतिपक्षी दलले सरकारको विरोधै गरेको पाइन्छ । तर यस विधेयकको सवालमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि सरकारसँगै उभियो ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देशको सार्वभौमसत्ता र अखण्डताको विषयमा राष्ट्रिय एकता कायम रहेको जनाउनुभयो ।

साथै, सरकारको सहि कदममा प्रमुख प्रतिपक्षी दलको सधैं साथ रहने पनि देउवाले बताए ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विधेयकको समर्थन गर्दै काँग्रेस र कम्यूनिष्ट पार्टीलाई भने राष्ट्रघातीको संज्ञा दिए ।

महाकाली सन्धीमा काँग्रेस र कम्यूनिष्ट पार्टीले राष्ट्रघात गरेको भन्दै यसबारेमा उनीहरुले जनतालाई प्रष्ट पार्नुपर्ने माग गरे ।

हिजोको प्रतिनिधि सभाको वैठकमा धेरै सांसदले आआफ्नो मत राखे । जनता समाजवादीका वरिष्ठ नेता राजेन्द्र महतोको भनाई भने भाइरल नै बन्यो ।

छापा वा विद्यूतीय धेरै संचारमाध्यममा उनको भनाई हेडलाइन नै बन्यो भने महतोकै नामले सामाजिक संजालका भित्ता भरिएको देखियो ।

महतोले पनि महाकाली सन्धी गरेकाहरुलाई राष्ट्रघातीकै नाम दिँदै त्यो सन्धी गरेकाहरुलाई टुँडिखेलमा झुन्ड्याउनुपर्ने समेत भने ।

महाकाली सन्धी गर्दा काली नदिको मुहान नटुङ्ग्याइएको कारणले नै सीमा विवाद भएको र भूमि अतिक्रमण भएको महतोको भनाई थियो ।

‘महाकाली सन्धी कसरी भयो ? त्यसमै थियो नि लिपुलेक, लिम्पियाधुराको स्रोत । त्यो स्पष्ट गरिएको भए हाम्रो जमिन मिचिन्थ्यो ?’ नेता महतोले प्रश्न गरे ।

तत्कालीन समयमा आफु सांसद नरहेको भन्दै महतोले पार्टी नै विभाजन गरेर महाकाली सन्धी पारित गराउने कस्तो राष्ट्रवादी काम हो भनी अर्को प्रश्न तेर्साए ।

राष्ट्रघातीको पहिचान गरी उनीहरुको पर्दाफास गरिनुपर्ने माग पनि महतोले राखे ।

प्रश्नमाथि प्रश्न तेर्साएका नेता महतोले रंगकै आधारमा मधेसीको राष्ट्रवादमा औंला तेर्साउने किन र मधेसीले कतिपल्ट अग्नि परिक्षा दिइरहने भन्दै आक्रोश पनि पोखे ।

‘अब राष्ट्रवादी र राष्ट्रघातीको पहिचान गरिनुपर्यो । राष्ट्रघातीलाई टुँडिखेलमा राखेर झुन्ड्याउनुपर्यो । श्वेतपत्र जारी गर्नुपर्यो प्रधानमन्त्रीज्यू, सरकारलाई हाम्रो आग्रह छ’ महतोले आग्रह गरे ।

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082