शान्तिपुर्ण प्रदर्शन गर्न पाउने अधिकारको सम्मान गर्न मानव अधिकार आयोगको आग्रह
SamacharDesk – बिराज | २०७७ माघ १३, मंगलबार

राष्ट्रिय मानव अधिकार आयोगले शान्तिपूर्वक प्रदर्शन गर्न पाउने नागरिकको सम्मान गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
हिजो बालुवाटारमा प्रदर्शनको क्रममा प्रहरीबाट भएको धरपकड र बल प्रयोगको विषयलाई लिएर आज आयोगले प्रेस विज्ञप्ती जारी गर्दै सभा सम्मेलन गर्ने र आफ्नो विचार राख्न पाउने नागरिकको अधिकारको सम्मान गर्न सरकारको ध्यानाकर्षण गरिएको हो ।
आयोगका सहायक प्रवक्ता लोकनाथ वास्तोलाको हस्ताक्षर रहेको विज्ञप्तीमा कानून कार्यान्वयन गर्ने अधिकारीहरुका लागि बल तथा हतियार प्रयोग सम्बन्धी संयुक्त राष्ट्र संघीय आधारभूत सिद्धान्त १९९० को विपरित हुने गरी कार्य नगर्न समेत नेपाल सरकारलाई भनेको छ ।
‘संयुक्त राष्ट्र संघको विश्वव्यापी घोषणापत्र, १९४८ धारा २०, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६६ को धारा २१ र नेपालको संविधानको धारा १७ ले बिनाहातहतियार शान्तिपूर्वक भेला हुने तथा विचार तथा अभिव्यक्ति राख्न पाउने स्वतन्त्रताको सुनिश्चितता गरेको छ’ विज्ञप्तीमा लेखिएको छ ।
नागरिकहरुबाट गरिएको शान्तिपुर्ण आन्दोलनमा प्रहरीबाट अधिक बल प्रयोग गरी घाइते बनाइनु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून विपरितको कार्य भएको उल्लेख गर्दै यसतर्फ सम्वेदनशील हुन समेत विज्ञप्तीमा आग्रह गरिएको छ ।
