‘पुर्ख्याैली पेशालाई नै कर्पोरेट विजनेशको रुपमा अगाडी बढाउने भिजन मसँग छ’
SamacharDesk – बिराज | २०७९ कार्तिक २८, सोमबार

आसन्न आम निर्वाचनमा प्रदेश सभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ८ (क) बाट शैलेन्द्र मान बज्राचार्यले पनि उम्मेदवारी दिएका छन् । यस अघि संसदको सबैभन्दा ठुलो दल नेकपा (एमाले) का उम्मदेवार र अघिल्लो निर्वाचनमा जित हात पारेका राजेश शाक्य र गठबन्धनको नेतृत्व गर्दै सत्तारुढ दल नेपाली काँग्रेसबाट उमदेवारी दिएका राजु राज जोशीको बलियो प्रतिस्पर्धीको रुपमा बज्राचार्य उभिन आएका छन् ।
उद्योग, व्यवसायमा लागिरहेका बज्राचार्य यस पालिको संसदीय निर्वाचनमार्फत राजनीतिमा होमिएका छन् । उनको उम्मेदवारी र उनको योजनालाई समाचारडेस्कले बज्राचार्यसँग गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छः
- पहिलो पल्ट चुनावी मैदानमा उत्रिनुभएको छ । कस्तो लागिरहेको छ ?
मलाई निकै राम्रो र रमाईलो नै लागिरहेको छ । म आफ्नो उद्योग व्यवसायको साथमा टोल समाजको उत्थान, विकासको लागि पनि सक्रिय रहेको मान्छे । राजनीति क्षेत्रमा अआएर सहि निर्णय गरेको छु भन्ने अब मलाई लागेको छ । अब टोल, समाजको मात्र होइन, पुरै राष्ट्रको विकासमा लाग्ने बाटो खुलेको मैले देखिसकें ।
दिनहुँ घरदैलो, सभा, सम्मेलनहरुमा भाग लिइरहेको छु, नागरिक समाजसँग आफ्नो योजना, परिकल्पनाहरु आदिको बारेमा प्रत्यक्ष सम्वाद गर्न पाइरहेको छु । आम नागरिकको अपेक्षा, गुनासो सबै सुनिरहेको छु । यसले मेरो सोचको दायरालाई अझ फराकिलो बनाएको छ । अब यो निर्वाचन पछि मेरो सामाजिक गतिविधिहरुले नयाँ र फराकिलो सोच लिनेछ र नयाँ ढङ्गबाट बढ्नेछ ।
- तपाईँले आफुलाई स्वतन्त्र उम्मदेवार भनिरहनु भएको छ । फेरी लौरो चिन्ह त हाम्रो नेपाल पार्टीको हो । सर्वप्रथम तपाईँ स्वतन्त्र उम्मेदवार हो कि दलको उम्मेदवार भन्ने कुरा प्रष्ट्याइदिनु न ।
यो कुरामा सबैजना स्पष्ट हुनु जरुरी छ । हो, अहिले लौरो चिन्ह हाम्रो नेपाली पार्टीको हो तर, यो चिन्ह केही स्पष्ट नीति, योजना लिएर आउने स्वतन्त्र उम्मदेवारहरुको लागि सुरक्षित गरिएको हो । स्पष्ट भिजन र प्लान लिएर स्वतन्त्र चुनाव चिन्ह लिएर चुनावी मैदानमा आउने उम्मेदवारले जित्ने परिस्थिती नै छैन अहिले ।
एक स्वतन्त्र उम्मेदवारले १५, २० दिन वा एक महिनामा मतदाताहरुलाई आफ्नो चुनाव चिन्ह नै चिनाउन सकिन्न । एक सक्षम उम्मदेवार चुनाव चिन्हकै कारण चुनाव हारेको थुप्रै उदाहरणहरु हामी सामु छ । भावनामा मात्र बगेर हुँदैन । एक इमान्दार, स्पष्ट र दूरदर्शी योजना लिएर कुनै दलको सदस्यता विना स्वतन्त्र उम्मदेवारी दिन चाहन्छ भने त्यस्ता उम्मेदवारको लागि लौरो चिन्ह सुरक्षित गर्न एउटा दलको नामबाट प्रकृया पूरा गरिएको हो ।
लौरो चिन्हका उम्मेदवार कुनै एउटा दलको विचार व नियम वा ह्वीप आदिमा बाँधिनु आवश्यक छैन । लौरो चिन्हका उम्मेदवार दलीय नभई स्वतन्त्र उम्मेदवार नै हो ।
- यसो हुँदा त लौरो चिन्हकै उम्मदेवारहरुको पनि फरक विचार, फरक सिद्धान्त हुने सम्भावना रहन्छ । अनि भोलि जितेर संसदमै पुगेपनि लौरोकै उम्मदेवारहरुकै बीचमा पनि द्वन्द्व हुँदैन भन्न सकिन्छ र ?
लौरो चिन्हबाटै निर्वाचन जितेका सांसदहरुबीच नै संसदमा वैचारिक द्वन्द हुन सक्छ, हुँदैन त भन्नै परेन नि । तर यसमा गलत के हुनेछ र ? अहिले भएका ठुला राजनीतिक दलहरुबीच मात्र फरक विचार देखिएको छैन र ? तर त्यहाँ ह्वीप जारी होला वा बोल्नको लागि पार्टीको नेतृत्व पंक्तिबाट बन्देज लगाइएला । किनकि त्यहाँ पदको राजनीति हुन्छ । सत्तामै पुग्ने वा सत्तामै टाँसिरहने खालको राजनीति हुन्छ ।
लौरोका उम्मेदवारहरुबीच आफु आफुमै मतभेद देखिएपनि त्यहाँ खुल्ला वैचारिक वहस हुन्छ । सबैले आआफ्नो विचार राख्नेछन् र त्यसबाट एउटा रचनात्मक उपलब्धी नै हासिल होला । हामीहरु पदको लागि, वा सत्ताको लागि झगडा गर्दैनौं । सामूहिक हित र देशको विकासको लागि वैचारिक अनि रचनात्मक द्वन्द्व गर्छौं ।
- तपाईँ त उद्योग व्यवसायमा लागिरहनुभएको मान्छे, प्रदेश सांसद बनेर के कस्तो योजनाहरु अघि बढाउनुहुन्छ ? तपाईँका एजेन्डाहरु के के हुन् ?
मेरो सबैभन्दा पहिलो एजेन्डा भनेको भूमि बचाउने हो । यहाँको प्राचीन बस्तीहरुबाट स्थानीय वासिन्दा विस्थापित हुँदैछन् । धेरैले आफ्नो पुरानो ठाउँ छोडेर गइसके, धेरै जाने क्रममा देखिन्छ । यसले दीर्घकालीन रुपमा नकारात्मक असर पुर्याउनेछ । यहाँको स्थानीय वासिन्दा विस्थापित हुँदा यसले देशकै अर्थतन्त्रमा असर पुर्याउँछ र पुर्याइरहेकै छ भन्न सकिन्छ । त्यसैले स्थानीय वासिन्दालाई आफ्नो थातथलोबाट विस्थापित हुने परिस्थितीबाट मुक्त गरिनुपर्यो ।
मेरो अर्को प्रमुख एजेन्डा भनेको आर्थिक समृद्धि नै हो । पहिलो एजेन्डा र दोश्रो एजेन्डा एक अर्कामा जोडिएका छन् । स्थानीय वासिन्दालाई आफ्नै भूमिमा स्थापित गर्दै आर्थिक रुपमा समृद्ध बनाउन सकिन्छ । अनि मैले विशेष जोड दिएको अर्को एजेन्डा भनेको नेतृत्व पुस्तान्तरण हो । एउटै व्यक्ति दोहोरिरहनु हुन्न । अहिले मैले नेतृत्व लिइरहेको छु भने मैले अहिल्यैबाट अर्को पटकको नयाँ नेतृत्व विकास गर्न सोच्नुपर्छ भन्ने मेरो मान्यता हो ।
- स्थानीय वासिन्दालाई आफ्नै भूमिमै स्थापित गरेर आर्थिक रुपमा समृद्ध बनाउन सकिन्छ भन्नुभयो । यसलाई अझ थप स्पष्ट बनाउनुहुन्छ कि ?
स्थानीय वासिन्दा विस्थापित हुनु भनेको त्यहाँको स्थानीय संस्कृति पनि विस्थापित हुनु हो । हाम्रा कतिपय पुराना जात्रा, संस्कृति आदि अहिले लोप भएको अवस्था छ । किन भन्दाखेरी त्यसलाई निरन्तरता दिने सरोकारवाला समूह, विज्ञ समाज आफ्नो पुरानो ठाउँ छोडेर गए । यसले गर्दा पर्यटन क्षेत्रमा असर पर्ने भयो । यति मात्र होइन, आफ्नो पुर्ख्याैली थातथलो छोडेर हिँडेका मानिसहरुले पुर्ख्याैली पेशा पनि छोडे । पुर्ख्याैली पेशाको संरक्षणलाई पर्यटनसँग जोड्दै मैले लाईभ म्यूजियमको पनि परिकल्पना बनाएको छु ।
स्थानीय सीप र उत्पादनमा केन्द्रित भएर एउटा सिङ्गो टोललाई नै लाईभ म्यूजियम बनाउने मेरो सोच छ । याे परिकल्पना के हो भनेर सामान्य अर्थमा बुझ्ने हो भने स्थानीय वासिन्दालाई नै आवश्यक तालीम दिएर, क्षमता अभिवृद्धि गरेर उसले आफ्नै पुर्ख्याैली घरमा बसेर आफ्नै पुर्ख्याैली पेशालाई निरन्तरता दिनेछ । एउटा टोलमा विभिन्न पूजा, चाडपर्व आदि पनि चलिरहेको हुन्छ । रक्सी पार्ने आदिवासी तरीका पनि त्यहि हेर्न सकिन्छ, ताम्राकारले भाँडावर्तन त्यहिँ बनाइरहेको हुन्छ, मानन्धरको तेलको मिल पनि त्यहिँ हुन्छ । यसरी एउटा टोललाई नै लाईभ म्यूजियमको रुपमा विकास गर्ने र त्यहाँ पर्यटकहरुलाई आकर्षित गर्ने सोच हो ।
यो परिकल्पनामा मैले ओमबहालमा काम अगाडी बढाइसकेको छु । हामीले स्थानीय सीप र उत्पादनलाई नै ब्रान्डिङ गर्न सक्छौं । त्यसलाई स्थानीय बजारमा मात्र होइन, अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सक्छौं । अन्तर्राष्ट्रिय ब्रान्डसँग सहकार्य गर्दै यहाँको स्थानीय उत्पादनलाई अन्तराष्ट्रिय बजारमा पुर्याउन सकिन्छ । यहाँका मालीहरुको सीप र दक्षतालाई अभिवृद्धि गरियो भने विदेशबाट नेपाली फूलहरुको माग बढाउन सकिन्छ । ताम्राकारहरुलाई आवश्यक वातावरण मिलाउन सकियो भने हामी भारत वा अन्य कुनै देशबाट आउने भाँडाकुडाहरुमा निर्भर हुनुपर्दैन । यहाँ औषधीको रुपमा समेत प्रयोग गरिने मदिरा उत्पादनलाई व्यवस्थित गरौं न । किन हामीले आयातित विदेशी व्हीस्की किनेर हाम्रो पैसा बाहिर पठाइरहेका छौं ।
पुर्ख्याैली पेशालाई नै कर्पोरेट विजनेशको रुपमा अगाडी बढाउने भिजन मसँग छ । नयाँ पुस्ता पुर्ख्याैली पेशामा आकर्षण गर्दै यहाँको हस्तकलाका सामग्री, स्थानीय उत्पादनको बजारलाई बढाउन सकिएमा निर्यातसँगै देशको आय पनि बढ्नेभयो ।
- अघि नेतृत्व हस्तान्तरणको कुरा गर्नुभयो । भन्दाखेरी अब पाँच वर्ष पछिको चुनावमा तपाईँ फेरी उठ्नुहुन्न ?
हजुर, पाँच वर्ष पछिको चुनावमा म फेरी प्रदेश सभामै उम्मेदवार बन्दिन । यो निर्वाचन पछि मैले अर्को पाँच वर्ष पछिको उम्मेदवार तयार गर्नेतर्फ लाग्नुपर्छ । मैले यहाँ काम गर्ने पाँच वर्ष हो । कामै गर्ने हो भने पाँच वर्ष धेरै लामो समय हो । काम नगर्ने भए त जति भए पनि पुग्दैन । राम्रै काम गरेपनि पटक पटक एउटै उम्मेदवार आइरहने हो भने नयाँ नेतृत्वले पालो कहिले पाउने ?
एकैजना मान्छे पदमा टाँसिरहन खोज्ने प्रवृत्तीकै कारणले देशको अवस्था अहिले यस्तो भएको होइन ? मैले अबको पाँच वर्ष पछि यो भन्दा राम्रोसँगै यो भन्दा ठुलो काम गर्नलाई आफुलाई तयार गर्ने हो र यो ठाउँ नयाँ नेतृत्वको लागि छोडिदिने हो । अबको पाँच वर्ष पछि प्रदेश सभा होइन, म प्रतिनिधि सभाको लागि तयार हुनुपर्छ र त्यहाँ पनि म नै बसिरहने सोच राख्नुहुन्न ।
- अन्तिममा तपाईँ हाम्रा पाठकलाई के भन्नुहुन्छ ?
विकासको लागि परिवर्तनको सोच लिएर आएको छु । म राजनीति जान्दिन । अहिले देखिएको पदको लागि खिचातानी, आफु माथि उठ्न एकले अर्कोलाई पछार्ने राजनीति म जान्दिन । म काम गर्न जान्दछु, विकास र समृद्धिको लागि के गर्नुपर्छ म बुझ्दछु । मैले गर्ने काम यहि नै हो । अब युवा पुस्तालाई पालो दिएर हेर्नु, साँच्चिकैमा अनुभूति गर्न सकिने परिवर्तन हामी ल्याएर देखाउँछौं ।
Categorized in राजनीति