संस्कृति, सम्पदा संरक्षण अभियानलाई राष्ट्रिय स्तरमै अघि बढाउँछु – श्रेष्ठ
SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७९ कार्तिक ६, आइतबार

काठमाडौंलगायत नेपालभरी सबैलाई तिहारको माहौलले छोपिसकेको छ । सबैजना लक्ष्मीलाई स्वागत गर्नुका साथै गोवद्र्धन पूजा, भाईटीका आदिको तयारीमा जुटीसकेका छन् ।
तिहारकै माहौलका बीच अहिले चुनावी माहौलले पनि वातावरण तताएको छ । तिहारको सुरुवात भइसक्दा पनि प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारहरु घरदैलो कार्यक्रममा व्यस्त छन् ।
काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिनिधि सभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ घरदैलो अभियानमा त व्यस्त छन् नै, चःमति युथ ग्रुपले नेपाल सम्वत ११४३ नयाँ वर्षको अवसरमा आयोजना गरेको सुकुन्दा र्यालीमा पनि सहभागी हुन भ्याए ।
सुकुन्दा र्यालीकै क्रममा श्रेष्ठसँग हामीले कुराकानी गर्यौं । ‘तिहारमा पनि चुनावी प्रचारमै व्यस्त हुनुहुन्छ र अरु कार्यक्रम पनि भ्याइराख्नु भएको रहेछ, चाडमा त घरमा परिवार कुर्दै होला नि ?’
हाम्रो प्रश्नमा प्रफुल्लित मुद्रामा विराजले भने, ‘म अहिले परिवारसँगै त छु नि । परिवारका सबै सदस्यलाई घरघरमा गएर भेट्दै तिहार अनि नेपाल सम्वत न्हूदँको शुभकामना दिँदैछु, यसरी न्हूदँको कार्यक्रमहरुमा सहभागी भएर परिवारसँग उत्सव मनाउँदैछु ।’
चाडबाड वा जात्रापर्व लगायत यहाँका स्थानीय परम्परा, सम्पदा आफुलाई निकै प्यारो लाग्ने र यस्तो सांस्कृतिक पर्वको समयमा समाजमा सबैसँग बस्न नै आफुलाई अझ रमाईलो लाग्ने उनले बताए ।
प्रतिनिधि सभा सदस्यमा आफु निर्वाचित भएपछि यहाँका स्थानीय संस्कृति, सम्पदाको संरक्षण, प्रवद्र्धन साथै लोप भइसकेका संस्कृतिलाई पनि पुनरुत्थान गर्ने योजना रहेको उनले सुनाए ।
‘अहिले चलिरहेका संस्कृति, परम्पराको आवश्यक व्यवस्थापन गर्दै निरन्तरता दिनु पनि आवश्यक छ भने लोप भएका संस्कृति, सम्पदालाई पनि पुनर्जिवीत गर्नुपर्छ’ श्रेष्ठले भने, ‘म प्रदेश सभासद रहँदा पनि वंघः पुनर्निर्माणको क्रममा ९० सालमा मासिएको वंघः डबलीलाई ब्युँताएको थिएँ ।’
नब्बे सालको महा भूकम्पपछि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले ‘जुद्ध सडक’ बनाए, जुन सडकलाई आज हामीहरु न्यूरोड भन्ने गर्छौं । त्यही बेलामा उनले आफ्नो शालिकदेखि इन्द्रचोकसम्मको सडक चौडा बनाए र सो क्रममा इन्द्रचोकको वंघः डबली नासियो ।
विश्व प्रशिद्ध ईन्द्रजात्राको क्रममा सोही डबलीमा देवी नाच र अन्य सांस्कृतिक झाँकीहरू प्रदर्शन गर्ने गरिन्थ्यो । तर डबली मासिएपछि यो परम्परा पनि बन्द भएको थियो ।
सो डबलीको गत साउनमा पुनर्निर्माण सम्पन्न भएर अस्तित्त्वमा आएको छ । इन्द्रचोक उपभोक्ता समितिले गरेको डबली पुनर्निर्माणमा बागमती प्रदेश सरकारको तर्फबाट तत्कालीन प्रदेश सभासद विराजभक्त श्रेष्ठले सहयोग गरेका थिए ।
‘हामीले सडक मात्र बनाउन लागेका थियौं तर यहाँ पहिले डबली पनि थियो, डबलीमा साँस्कृतिक गतिविधि गरिन्थ्यो भन्ने थाहा पाइयो । अनि त्यसलाई पनि ब्युँताउन पहल गरें’
सुरुमा सडक मात्र बनाउन लागेको तर पछि डबली थियो भन्ने थाहा पाएपछि डबली पनि बनाएको श्रेष्ठले भने ।
‘हामीले सडक मात्र बनाउन लागेका थियौं तर यहाँ पहिले डबली पनि थियो, डबलीमा साँस्कृतिक गतिविधि गरिन्थ्यो भन्ने थाहा पाइयो । अनि त्यसलाई पनि ब्युँताउन पहल गरें’ श्रेष्ठले भने ।
स्थानीय नेवार भाषामा वंगः अथवा वंघः भनेर चिनिने इन्द्रचोकको ऐतिहासिक नाम पूर्णवती नगर रहेको बताइन्छ । लिच्छविकालदेखिका अनेकन इतिहास, किम्वदन्ती, लोकश्रुतिहरु वंघः अथवा इन्द्रचोकसँग जोडिएका छन् ।
वंघः पुनर्निर्माणको त्यो समय सम्झिँदै श्रेष्ठले सांस्कृतिक, ऐतिहासिक, धार्मिक महत्त्व बोकेको आफ्नो जन्मथलो ईन्द्रचोकको पुनर्निर्माणमा केही योगदान दिन पाउँदा गर्व लागेको बताउँछन् ।
प्रदेश सांसद रहँदा स्थानीय संस्कृति, परम्परामा आफुले सक्दो योगदान दिएको र अब संस्कृति, सम्पदा संरक्षणको अभियानलाई राष्ट्रिय स्तरमै अघि बढाउन आफुले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएको उनले बताए ।
नेपालको पहिचान भनेकै यहाँको मूर्त अमूर्त सम्पदा, स्थानीय संस्कृतिहरु रहेको भन्दै आफु निर्वाचित भएमा यसको संरक्षण, सम्वद्र्धनका लागि दीर्घकालीन योजना नै बनाएर आफु अघि बढ्ने श्रेष्ठको भनाई हो ।
Categorized in राजनीति