arin enterprises

अनुशासनको प्रदर्शन गर्दै काम गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८२ पौष २४, बिहिबार

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले संगठनको श्रीवृद्धिको लागि सामुहिक सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् ।

आसन्न निर्वाचनको परिवेशमा बिहीबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा सबै प्रहरी कर्मचारीहरूले उच्च व्यावसायिकता तथा अनुशासनको प्रदर्शन गर्दै नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिए ।

नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमबाट अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता, समसामयिक विषयवस्तु लगायत प्रहरी गतिविधि र कामकाज सम्बन्धमा प्रहरी महानिरीक्षक कार्कीले उक्त निर्देशन दिएका हुन् ।

प्रहरी महानिरीक्षक कार्कीले समाजमा देखापरेको सुरक्षा चुनौतिहरूको सामना गर्न आवश्यक सुरक्षा रणनीति बनाई प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने बताए ।

पारदर्शी एवम् बस्तुनिष्ठ अपराध अनुसन्धान, सीमा नाकामा हुने तस्करी नियन्त्रण, हातहतियार बरामद, फरार प्रतिवादी पक्राउलाई समेत प्राथमिकतामा राखी थप सक्रिय भई कार्यसम्पादन गर्न उनले निर्देशन दिए ।

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्बेदीले समेत समसामयिक विषयमा निर्देशन दिएका थिए । 

Categorized in राष्ट्रिय