पूर्वप्रधानमन्त्री खानलाई ३ वर्ष कैदको सजाय
SamacharDesk | २०८० श्रावण २१, आइतबार

पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं तेहरिक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रमुख इमरान खानलाई पक्राउ गरिएको छ ।
खानलाई लाहोरस्थित निवासबाट पक्राउ गरिएको पाकिस्तानी समाचार संस्था डनन्युजले जनाएको छ । पीटीआईको पञ्जाव प्रान्त कमिटीले इमरान खानलाई कोट लखपत जेल लगिएको जानकारी ट्विटरमा लेखेको छ ।
इस्लामावाद जिल्ला अदालतले सरकारमा हुँदा प्राप्त गरेको उपहार बिक्री गर्दा पाएको रकमको जानकारी नगराएको भ्रष्टाचार मुद्दामा तीन वर्ष जेल सजाय र एक लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो ।
यो सजायसँगै इमरान खान पाँच वर्ष चुनाव लड्न अयोग्य हुने पाकिस्तान चुनाव आयोगका वकिल अमजद परवेजले बताएको समाचारमा उल्लेख छ ।
मुद्दाको सुनुवाइका क्रममा इमरान खान र उहाँका वकिल इजलास समक्ष अनुपस्थित रहेका थिए । इमरान खानको पार्टीले भने अदालतबाट पक्षपाती फैसला भएको भन्दै आपत्ति जनाएको छ ।
खानलाई गत वैशाखमा पनि पक्राउ गरिएको थियो । त्यसपछि पाकिस्तानी सेनाको मुख्यालयसहित विभिन्न ठाउँमा खानका कार्यकर्ताले आक्रमण गरेका थिए ।
Categorized in अन्तर्राष्ट्रिय